छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान



पोखरा ।
पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी १२ वटा सिसी क्यामरा जडान गरिएको छ ।

डेभिजफल क्लबको सक्रियतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म लगभग एक किलोमिटर सडकमा रु १० लाखको लागतमा उक्त क्यामरा जडान गरिएको हो ।

पोखरा महानगरपालिकाको रु तीन लाख ८० हजार, गुप्तेश्वर गुफा व्यवस्थापन समितिको रु तीन लाख ५० हजार, बरालफिडको रु ५० हजार सहयोग प्राप्त हुनुका साथै रु दुई लाख २० हजार क्लबको खर्च भएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज आयोजित एक कार्यक्रममा सिसी क्यामरा सेवाको शुभारम्भ गर्दै सुरक्षा र सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानालाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले समाजमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्दै शान्ति सुव्यवस्था कायम गर्न सिसी क्यामराले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सिंगो महानगरलाई प्रविधियुक्त बनाइने जानकारी दिनुभयो ।

डेभिजफल क्लबका अध्यक्ष गोपाल बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रहरी उपरीक्षक ओमबहादुर राना, वडा नं १७ का वडाध्यक्ष तीर्थ अधिकारी र क्लबका ऋषि बराललगायतले सिसी क्यामराको उपयोगिताका बारेमा प्रकाश पार्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्