उपत्यकाका सडक र चोकमा फोहोरको थुप्रो



पूर्णप्रसाद मिश्र, काठमाडौँ ।
सरकारले विसं २०७५ लाई सरसफाइ वर्ष घोषणा गरे पनि उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर हप्ता दिनदेखि उठ्न सकेको छैन ।

उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ता जारी रहे पनि हप्ता दिनभन्दा बढी समयदेखि उपत्यकाको फोहोर नउठ्दा सडक र चोक चोकमा फोहोरको थुप्रो लागेको छ ।

उपत्यकाको प्रमुख नदी वाग्मती सफाइ महाअभियान शुरु भएको ३०० हप्ता हुन लाग्दा नदीको स्वच्छतामा ठूलो परिवर्तन आएको छैन । उपत्यकाको सडक र चोकमा जम्मा हुने फोहोर व्यवस्थापन नहुँदा वर्षाको भेलले बगाएर नदीमै पुग्ने निश्चित छ ।

विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी प्रत्येक हप्ता नदी किनारमा जम्मा भएर सफाइ गर्छन् ।

तर सफाइ महाअभियानले सामाजिक जागरण ल्याएको छ । जसका कारण हाल देशभर १०० स्थानमा सफाइ अभियान शुरु भएको छ । सफाइ अभियन्ताको सडक र चोकमा थुप्रिएको फोहोरको डंगुरमा भने ध्यान जान सकेको छैन । गर्मी समयमा फोहोरको थुप्रोले गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छ ।

उपत्यकाबाट २६ मेट्रिक टन फोहोर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २६ मेट्रिक टन फोहोर उठाइयो । सिस्डोलमा फोहोर व्यवस्थापनका लागि समस्या भएकाले उठाइएको फोहोर नदी किनारमै थुपारिएको सफाइ अभियन्ताले जनाएका छन् ।

वाग्मती सफाइ महाअभियानको २७१औँ हप्तामा गुह्येश्वरी क्षेत्रको नदी किनारमा सफाइ गरी छ मेट्रिक टन फोहोर व्यवस्थापन गरियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाई, ठकुरी समाजलगायत ३९ संस्थाका गरी ८०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी माला खरेलले राससलाई जानकारी दिनुभयो ।

सफाइमा ३ नं प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, पूर्व सचिव किशोर थापा, वाग्मती सद्भावना दूत मनीषा कोइराला, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायतको पनि सक्रियता थियो ।

वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २३२औँ हप्ताको कार्यक्रम पनि आज यसै स्थानमा गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो । वाग्मती तिलगंगा खण्ड सफाइको १७३औँ हप्ताको सफाइ पनि आज यही गरिएको संयोजक आशा पाण्डेले राससलाई बताउनुभयो ।

रुद्रमती सफाइको २२६औँ हप्तामा रातोपुल–सेतोपुल–हुँदै मैतीदेवी मन्दिरसम्मको क्षेत्रमा जनचेतनामूलक अभियान गरी दुई मेट्रिक टन फोहोर व्यवस्थापन गरियो ।

रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह, महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियन्ताको सक्रियता रहेको अभियन्ता रोहित गिरीले राससलाई जानकारी दिनुभयो । रुद्रमती आसपासका धेरै ठाउँमा एक हप्ताअघिदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिएको उहाँले बताउनुभयो ।

विष्णुमती सफाइ अभियानको १९८औँ हप्तामा टोखा नगरपालिकाको वडा नं ५ क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी र अभियन्ता गरी २०० भन्दा बढी व्यक्तिको सहभागिता थियो । सफाइबाट दुई मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी बिजेन लामाले जानकारी दिनुभयो ।

सफाइमा टोखा नगरपालिका वडा नं ८ की सदस्य निशा पाण्डेले जनचेतनामूलक अभियानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अर्को हप्ता वडा कार्यालयमै बैठक डाकेर सफाइ अभियानको जनचेतनामा सहयोग गर्ने उहाँले जानकारी गराउनुभयो ।

वाग्मती नदी किनारस्थित सुन्दरीघाट सफाइ अभियानको ८१औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहोर व्यवस्थापन गरियो । सफाइमा ८० जना अभियन्ताको सहभागिता रहेकोे अभियानकर्मी चित्र सुनुवारले जानकारी दिनुभयो ।

मनोहरा नदी सफाइको ६९औँ हप्तामा जडीबुटीस्थित बिपी आँखा अस्पतालअघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहोर व्यवस्थापन गरियो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको संयोजक चन्द्र दंगालले बताउनुभयो ।

चक्रपथ सफाइको ६७ औँ हप्तामा वनस्थली ढुंगेधाराचोकबाट स्वयम्भू अन्नपूर्णचोकतिर सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्शलगायत संस्थाका गरी ३५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । आजको सफाइबाट १० मेट्रिक टन फोहोर व्यवस्थापन गरियो ।

आलोकनगर क्षेत्र सफाइको ६७औँ हप्तामा भिएस निकेतनअघिको वाग्मती नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहोर व्यवस्थापन गरियो । मातृशक्ति समूहले आलोकनगर र मीनभवन क्षेत्रमा सफाइ गर्दै आएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो ।

चक्रपथ बाफल खण्ड सफाइको ४९औँ हप्तामा स्यूचाटार पुलदेखि सोल्टी दोबाटोसम्मको क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहोर व्यवस्थापन गरियो । सफाइमा ३०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी ताराबहादुर कुँवरले बताउनुभयो ।

सफाइमा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, जापानको ओकाजाकी शहरका अभियन्तालगायतको सहभागिता रहेको उहाँले बताउनुभयो ।

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशभर १०० भन्दा बढी स्थानमा सफाइ शुरु भएको छ । देशभर भएका सफाइ अभियानबाट २० हजार मेट्रि«क टनभन्दा बढी फोहोर व्यवस्थापन भएको छ ।

फोहोरको परिमाण उपत्यकामा काठमाडौँ, ललितपुर महानगरपालिका एवं अन्य नगरपालिकाका सवारीले उठाउँदा मापन गरिएका आधारमा तथ्यांक सार्वजनिक गर्ने गरिएको सफाइ महाअभियानले जनाएको छ ।

अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस सफाइमा सहभागी भएका छन् । सफाइ महाअभियानको अनुरोधमा सरकारले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्षसमेत घोषणा गरेको छ ।

वाग्मती सफाइ महाअभियानले २०० हप्ता प्रवेश गरेका अवसरमा सरकारले सरसफाइ घोषणापत्र नै जारी गरेको थियो । सरकारले घोषणापत्र जारी गरे पनि कार्यान्वयनमा ध्यान नदिएको अभियन्ताको गुनासो छ ।
रासस

प्रतिक्रिया दिनुहोस्