टुहुरा बालकलाई रु २३ हजार सहयोग



पोखरा ।
मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा असारमा भएको टिपर दुर्घटनामा बाबुआमा गुमाएका टुहुरा बालकहरुलाई सञ्चारकर्मी जमुना शर्मा वर्षाको सक्रियतामा संकलित रु २३ हजार आर्थिक सहयोग शुक्रबार हस्तान्तरण भएको छ ।

रोजगारीका लागि मुस्ताङ पुगेका मौसम घर्ती मगर र जीतमायाका दुई छोरालाई सो रकम हस्तान्तरण गरियो । रोल्पा, थवाङ – १ फुर्तीवाङ स्थायी बसोबास भएको मगर दम्पतीको मृत्यु भएपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका १२ वर्षीय विवश र छ वर्षीय विशेषनलाई रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका अमृत साइन्स क्याम्पसका पूर्वविद्यार्थीको पहलमा रकम संकलन गरिएको क्याम्पसका पूर्वविद्यार्थी अच्युत भट्टराईले जानकारी दिनुभयो ।

यसअघि जिल्ला बालकल्याण समिति कास्कीबाट रु १० हजार, रमेशबहादुर भट्टराईबाट रु १० हजार, लायन्स क्लब अफ पोखरा डाइमन्स भिलेजबाट रु २० हजार र पैसा १० प्राप्त भएको रोल्पा पोखरा सम्पर्क समाजका कोषाध्यक्ष रामकुमार बुढा मगरले बताउनुभयो । बालकद्वयलाई निकट भविष्यमा एसओएस बालग्राम रामबजारमा राख्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्