वैदेशिक लगानीमा वृद्धि, करिब ५७ अर्ब बराबरको वैदेशिक लगानीको प्रतिबद्धता



नेपाल समाचारपत्र, काठमाडौं
मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको उद्योग क्षेत्रमा वैदेशिक लगानी बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा कुल ५६ अर्ब ९४ करोड ३९ लाख रुपियाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

गत आर्थिक वर्षमा ३ सय ९५ वटा आयोजनाका लागि विदेशी लगानी भित्रिएको छ । जसमा कृषि तथा वनसँग सम्बन्धित २० वटा उत्पादन क्षेत्रसँग सम्बन्धित ६६ वटा, ऊर्जा क्षेत्रसँग सम्बन्धित ६ वटा, सामाजिक सेवासँग सम्बन्धित १ सय १८ वटा, पर्यटन क्षेत्रमा सबैभन्दा बढी १ सय ५६ वटा, सँचना प्रविधिसँग सम्बन्धित २६ वटा, मिनरल उद्योगका रुपमा ३ वटा विदेशी कम्पनीहरु दर्ता भएका छन् ।

उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्षमा सबैभन्दा धेरै ऊर्जा क्षेत्रमा ३६ अर्ब २५ करोड १५ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । ऊर्जा क्षेत्रमा कुल ४७ अर्ब ९१ करोड लागत बराबरका ६ वटा आयोजनामा लगानी भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा उत्पादन क्षेत्रतर्फ ७ अर्ब ५३ करोड, पर्यटन क्षेत्रतर्फ ३ अर्व ९१ करोड ५४ लाख ५ हजार, सेवा क्षेत्रमा २ अर्ब ४१ करोड १४ लाख रुपियाँ बराबरको लगानी नेपाल भित्रिएको छ ।

आर्थिक वर्ष वैदेशिक लगानी प्रतिबद्धता (रुपियाँमा)
२०६९/७० १९ अर्ब ८१ करोड ८७ लाख ३० हजार
२०७०/७१ २० अर्ब १० करोड ७४ लाख २० हजार
२०७१/७२ ६७ अर्ब ४० करोड ४० हजार
२०७२/७३ १५ अर्ब २० करोड १८ लाख ३० हजार
२०७३/७४ १५ अर्ब १ करोड ७२ लाख ३० हजार
२०७४/७५ ५५ अर्ब ६४ करोड ५६ लाख

त्यसैगरी कृषि तथा वन क्षेत्रमा २ अर्ब ९ करोड २१ लाख रुपियाँ, सँचना प्रविधिका क्षेत्रमा ३१ करोड रुपियाँ, मिनरल उद्योगमा ३० लाख ३० करोड रुपियाँ बराबरको लगानी भित्रिएको छ ।

उद्योग विभागको तथ्यांक हेर्दा गत आर्थिक वर्षमामात्र यसरी दर्ता भएका कम्पनीहरुले १३ हजार ८ सय २८ जनालाई रोजगारी दिएको छ । पर्यटन क्षेत्रतर्फ सबैभन्दा धेरै ३ हजार ९ सय ५२ जनाले राजगारी पाएका छन् । त्यस्तै सेवा क्षेत्रमा ३ हजार ७ सय ९७ जनाले, उत्पादन क्ष्ँेत्रतर्फ ३ हजार ४ सय ८३ जनाले, कृषि तथा वन क्षेत्रमा ६ सय २४ जनाले, सँचना प्रविधिको क्षेत्रमा ७ सय ८८ जनाले , ऊर्जा क्षेत्रमा ६ सय ७४ र मिनरल उद्योगमार्फत ५ सय १० जनाले रोजगारी पाएका छन् ।

२०७३ फागुनमा सरकारले गरेको लगानी सम्मेलन गरेपछि नेपालमा १४ खर्ब रुपियाँ भन्दा बढीको लगानी प्रतिबद्धता जनाए पनि आर्थिक वर्ष २०७३÷७४ मा निकै कम मात्र विदेशी लगानी भित्रिएको थियो । उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१÷७२ मा ६७ अर्व ४० करोड रुपियाँ पुगेको विदेशी लगानी आर्थिक वर्ष २०७२÷७३ मा १५ अर्ब २० करोड १८ लाख रुपियाँमा झरेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७३÷७४ मा करिब १५ अर्ब १२ रुपियाँ बराबरको विदेशी लगानी नेपाल भित्रिएको थियो । गत आर्थिक वर्षमा भने अघिल्ला आर्थिक वर्षको भन्दा निकै बढी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाउँछ ।

कम्पनी रजिस्टारको कार्यालयका अनुसार हालसम्म ८ हजार बढी विदेशी कम्पनीले नेपालीमा लगानी गरिरहेका छन् । यसरी दर्ता भएका उद्योगहरुमा सबैभन्दा धेरै उत्पादनमँलक क्षेत्रमा दर्ता भएका छन् । उत्पादनमुलक क्षेत्रमा २ हजार ८ सय ६५ वटा विदेशी कम्पनी दर्ता भएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । नेपालमा स्थापना भएर व्यवसाय गरिरहेका विदेशी कम्पनीहरुले ५ लाख ४० हजारभन्दा बढी व्यक्तिलाई नेपालमा रोजगारी दिइरहेको उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालमा दर्ता भएका यस्ता कम्पनीहरुले १३ खर्ब १९ करोड २० लाख रुपियाँ बराबरको लगानी गरेको तथ्यांक रहेको छ ।
नेपालमा विदेशी कम्पनीहरुले साविकका कम्पनीहरुमा शेयर हस्तान्तरणमार्फत लगानी गर्न सक्ने प्रावधान छ । आन्तरिक लगानीबाट खोलिएका उद्योगमा ऋणमार्फत पनि विदेशी लगानी भित्राउन तथा प्रविधि स्थानान्तरणमार्फत पनि विदेशी लगानी भइरहेको छ ।

 

नेपालमा उद्योग क्षेत्रको विकासका लागि अर्थ मन्त्रालयअन्तर्गत औद्योगिक प्रवद्र्धन महाशाखाले सम्पत्ति व्यवस्थापन तथा लगानी आकर्षित गर्न विदेशी लगानीकर्तालाई नेपालमा लगानीका अवसरका बारेमा जानकारी गराउन सरकारको औद्योगिक नीति, वैदेशिक लगानी नीति तथा अन्य सम्बद्ध ऐन समावेश गरी प्रवद्र्धनात्मक सामग्री प्रकाशित गर्ने, लगानीकर्ताले माग गरेका जानकारी उपलब्ध गराउने, नेपाललाई तुलनात्मक रुपमा लाभ पुग्ने क्षेत्रमा विदेशी लगानी भित्र्याउने लगायतका काम गरिरहेको छ ।

विदेशी लगानी नीति २०७१ अनुसार विदेशी कम्पनीहरुले आयकरमा छुट, नाफा विदेश लैजान पाउने, तथा नेपालका बैंक तथा वित्तीय क्षेत्रबाट ऋण पाउन सक्ने व्यवस्था गरेको छ । उक्त नीतिमा विदेशी लगानीकर्तालाई छुट्टै परिचयपत्र वितरण गर्ने तथा उत्पादित वस्तुको मुल्य निर्धारणमा सरकारले हस्तक्षेप गर्न नपाउने व्यवस्था छ । नीतिअनुसार विदेशी कम्पनीले लघु उद्यम र परम्परागत घरेलु उद्योग, हातहरियार, खरखजाना, गोलीगट्ठा, बारुद तथा विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग, विकीरणजन्य पदार्थ सम्बन्धी उद्योग, मुद्रा तथा सिक्का व्यवसाय, आमसञ्चारका प्रशारण माध्याम लगायत क्षेत्रमा विदेशी लगानी गर्न पाइदैन ।

उद्योग क्षेत्रमा लगानी गरिरहेका लगानीकर्ताहरुलाई संस्थागत विदेशी लगानीकर्ता, व्यक्तिगत विदेशी लगानीकर्ता र गैरआवासीय नेपाली लगानीकर्ता गरी ३ तहमा वर्गीकरण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्