दिनहुँ झर्ने पहिरोले समस्यै समस्या



धनवीर दाहाल, रुकुम
रुकुम पूर्वको विभिन्न सडक खण्डमा अविरल वर्षासंगै सडकमा झरेको पहिरोका कारण सवारी आवागमणमा समस्या हुने गरेको छ । मध्यपहाडि लोकमार्ग अन्र्तगत जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ को खोपीचार लगायत धेरैजसो ठाउँमा पहिरो झर्दा सवारी आवागमणमा समस्या देखिएको हो

मध्यपहाडि लोकमार्गमा समेत पर्ने यस सडकखण्डको भूगोल कमजोर भएकाले वर्षासंगै पहिरो झर्दा यातायातसेवा अवरुद्ध हुने गरेको छ । सडकमा झरेको पहिरोका कारण रुकुम पश्चिमबाट रुकुम पूर्व र पूर्वबाट पश्चिमका लागि काम विशेषले हिड्ने गरेका धेरैजसो यात्रुहरु बिचबाटोमै अलपत्र हुनुपरेको पीडा सुनाउँछन् । स्थानीय राजकुमार रिजालका अनुसार भनेको समयमा गन्त्व्यमा पुग्न निकै कठिन छ ।
वर्षायामको समयमा सडकमाथिबाट पहिरो झर्ने समस्या देखिएपछि हाल रुकुम पूर्वमा साना यातायातका साधनहरुमात्र चल्ने गर्दछन् । साना सवारीसाधनहरुलाई समेत कच्ची सडक पार गर्न मुश्किल पर्ने गरेको छ । दिनहुँ पहिरोले अवरुद्ध हुने सडकखण्डमा जोखिम मोल्दै सवारीसाधनहरु चलाउनुपर्ने बाध्यता गाडी चालक सुनिल बिकले बताए ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका देखी रुकुम पूर्वको रुकुमकोटमा पुग्न तीन घण्टा लाग्छ । आजभोली पहिरोका कारण सडक अबरुद्ध हुने भएकाले तीन घण्टामा पुगिने बाटोमा एक दिनको कठिनपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । तर पहिरोका कारण दिनहुँ अबरुद्ध भईरहने सडकलाई आधा घण्टामै सुचारु गर्ने काम समेत भईरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा बताए ।
रुकुम पूर्व भौगोलिक हिसाबले विकट जिल्ला हो । हिमाली जिल्लाको रुपमा चिनिने यो जिल्लाको तीनवटै स्थानीय तहमा सडक विस्तार अझै पूर्ण रुपमा भईसकेको छैन । तसर्थ दिनहुँ अवरुद्ध भईरहने रुकुम पूर्वको सवारी आवागमणलाई पूर्णता दिन तत्काल सडक विभाग र सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्