रोडसँगै जुम्लामा पुग्यो लागु औषध



नेपाल समाचारपत्र, बाँके
सीमावर्ती बजार नेपालगञ्ज या भारतीय बजार रुपैडिहाबाट पहाडी जिल्लाहरुमा लागु औषधको कारोबार बढेको छ । सडक सञ्जालले जोडेसँगै नेपालगञ्ज या रुपैडिहाबाट लागु औषध जुम्लासम्म पुगेको प्रहरीको निष्कर्ष रहेको छ ।
यहाँबाट बढीमात्रामा लागु औषध जाने पहाडी जिल्लामा भने दैलेख अगाडि देखिएको छ । प्रहरीले बरामद गरेको लागु औषधको मात्रा र संख्याले यस्तो देखिएको हो ।

हुन त नेपालगञ्जबाट सुर्खेत, दाङ हुँदै राजधानी, पोखरासम्म लागु औषध जाने गरेको तथ्यांकहरुले देखाएका छन् । लागु औषध ब्राउनसुगर, नाइट्रोभेट, नाइट्रोजेपाम, स्पामको माग दैलेखलगायत पहाडी जिल्लामा बढ्दै गएको नेपालगञ्जमा पक्राउ परेकाहरुले खुलाएका छन् ।
नेपालगञ्ज, कोहलपुर, सुर्खेत हुँदै दैलेख पुगिन्छ । भुक्तभोगीका अनुसार, कतिपयले नेपालगञ्ज, केहीले रुपैडिहा नै पुगेर त कोहीले कोहलपुर र सुर्खेतबाट लागु औषध दैलेख पु¥याउने गरेका छन् । रुपैडिहामा १०÷१२ रुपैया पर्ने नाइट्रोभेट दैलेखमा दुई सयसम्म पर्ने गरेको पक्राउ परेकाहरुले खुलाएका छन् । ‘जति माथि पु¥यायो, त्यति नै मूल्य बढ्छ, भुक्तभोगीहरु बताउँछन् ।

दैलेखबाट लागु औषध नै लिन नेपालगञ्ज र रुपैडिहासम्म पुग्ने गरेको पाइएको छ । शुक्रबारमात्रै त्यस्ता दुई जना पक्राउ परेका छन् । डेढ÷डेढ सय नाइट्रोभेट बोकेर नेपाल प्रवेश गर्दा दैलेखका प्रकाश विष्ट र विकास रावल पक्राउ परेका हुन् । उनीहरु हिडेर नाका पार गर्दै थिए । विष्टले तीन हजार दुई सय रुपैयामा तीन सय ट्याब्लेट नाइट्रोभेट किनेर ल्याएको बताए । उनले भने अनुसार एउटा नाइट्रोभेटलाई करिव एघार रुपैया परेको छ ।

उनीहरुले अरुले मगाएकाले लिन आएको बताएका छन् । प्रहरीले उनीहरु कारोबार नै भएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँट इन्चार्ज रणबहादुर विष्टले नेपालगञ्जबाट सुर्खेत, दाङमात्रै होइन, पछिल्लो समयमा जुम्लासम्म लागु औषध पुगेको बताए । खाना र लैजान तथा खरिदमा सस्तो पर्ने भएकाले नाइट्रोभेट, नाइट्रोजेपाम, स्पामको माग बढिरहेको पाइएको छ । बाँके प्रहरीले नाका या बजार क्षेत्र र आसपासबाट दैनिकजसो नाइट्रोभेट बरामद गरिरहेको छ ।

त्यसो त पहाडी जिल्लाबाट नै नेपालगञ्जसम्म गाजा, चरेश आइपुग्छ । यसको बजार भनेको भारत नै हो । चरेश र गाजा भारतमा पुगेर फेरि ब्राउनसुगर बनेर आउँछन् । बजार क्षेत्रमा रहेको लागु औषध प्रयोगकर्ता एवं कारोबारी पहाडी जिल्ला र गाउँतिर फैलिदो रहेको छ । लागु औषधले घर मात्रै तोडिने होइन, समाजमा विकृति, विसंगति पनि बढाएको सम्बद्धहरु बताउँछन् । यसका विषयमा योजनाबद्ध कार्ययोजना बनाएर अघि बढ्नु पर्ने लागु औषधविरुद्धमा लागि परेको साहरा हाउसका सञ्चालक अभिराज क्षेत्री बताउँछन् ।

हुन त संघ संस्थाका साथै प्रहरीले कारबाहीसँगै जनचेतनामूलक गतिविधिहरु बढाएका छन् । स्कूल स्तरमा यसलाई फोकस गरिएको छ । अब यो गतिविधि शहरका केही स्कूलमात्रै होइन, दूरदराजका जिल्ला तथा गाउँहरुमा पु¥याउनु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्