सर्वोच्चमा मुद्दाको चाङ बढ्दो, एक न्यायाधीशको भागमा करिव ३ सय थान मुद्दा



प्रशान्त वली, काठमाडौं
सर्वोच्च अदालतमा एक लाख सात हजार पाँच सय थान मुद्दा फैसला हुन बाँकी छ । आर्थिक वर्ष २०७३÷०७४ बाट जिम्मेवारी सरेका र नयाँ दर्ता भएका गरी १ लाख ७ हजार ४ सय ३१ थान मुद्दा फछ्र्यौट हुन बाँकी छ ।

सर्वोच्च, उच्च र जिल्ला अदालतका ९५ हजार सात सय ४२ थान मुद्दा आर्थिक वर्ष २०७३÷०७४ मा जिम्मेवारी सरेको देखिएको हो । यसैगरी, एक लाख ३१ हजार चार सय ४३ थान मुद्दा नयाँ दर्ता भएको सर्वोच्चको तथ्याङक छ । सर्वोच्चका अनुसार तीनै तहमा रहेका (सर्वोच्च, उच्च र जिल्ला) अदालतका एक लाख १९ हजार ७ सय ५४ थान मुद्दा फछ्र्योट भइसकेका छन् ।

सर्वोच्चमा ३३ हजार १३ थान मुद्दा दर्ता भएका छन् ।
१२ हजार चार सय सात थान मुद्दा फछ्र्यौट भइसकेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार २३ हजार ३२ थान मुद्दा जिम्मेवारी सरेको र १० हजार नौ सय २० थान नयाँ मुद्दा दर्ता भएका छन् । जसमध्ये सर्वोच्चमा २० हजार ६ सय थान मुद्दा फछ्यौट हुन बाँकी रहेको छ । पोखरेलले नेपाल समाचारपत्रसंग भन्नुभयो,– ‘यो प्रारम्भीक तथ्याङक हो । यसमा तलमाथी हुन सक्छ । केहि दिनमै सर्वोच्चले सवै तथ्याङक ल्याउँछ । यसका लागि तयारी भइरहेको छ ।’

प्रारम्भिक तथ्यांक अनुसार एक न्यायाधीशले दुइ सय ९१ वटा मुद्दा हेर्नुपर्ने देखिन्छ । तर, हरेक अदालतमा मुद्दा दर्ताको संख्या फरक फरक पर्ने सर्वोच्चले जनाएको छ । सर्वोच्चको डायरी अनुसार देशभर तीन सय ६८ जना न्यायाधीश रहेका छन् । जिल्ला अदालतमा दुइ सय, उच्च अदालतमा एक सय ४९ र सर्वोच्चमा १९ जना न्यायाधीश कार्यरत रहेका रहेका छन् । हाल न्याय क्षेत्रमा चार हजार पाँच सय ७७ कर्मचारीहरु कार्यरत छन् ।

सर्वोच्चमा मात्रै बार्षिक सरदर चार हजार चार सयको संख्यामा मुद्दा फछ्र्याैट हुने, एकजना इजलास अधिकृतले बार्षिक सरदर १ सय १ फैसला तयार गर्नुपर्ने सर्वोच्चको प्रतिवेदनले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्