माग पुरा नभए उपचार लिन्न: प्राडा केसी



नेपाल समाचारपत्र, काठमाडौ
चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिनदेखि अनसनरत प्राडा गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राख्नुभएको छ ।

‘सरकारले आफुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरी माग पनि पुरा गर्ने बताएर काठमाडौँ ल्याएको थियो । मलाई सुविधा सम्पन्न अस्पताल ल्याएको हैन, यी सबै परिक्षण त जुम्लामै भैरहेको थियो नि ?’ –उहाँले भन्नुभयो ।

उहाँले रगत, मुटुलगायत कुनै परिक्षण गर्न नमानेको उहाँको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् । विहिवारदेखि उहाँको कुनै परिक्षण गर्न नपाएको डाक्टरहरूले बताएका छन् ।

शुक्रबार दिउसो उहाँको अवस्थाबारे समाचार संकलन गर्न अनसनस्थल पुगेका पत्रकारलाई डीएसपीले निकै निगरानी गरेका थिए ।
यसैबीच नेपाली काग्रेसका सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरवहादुर देउवाले शुक्रबार प्राडा केसीलाई भेटेर उहाँको माग पुरा गर्नु पर्ने बताउनुभएको थियो । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्राडा केसीको स्वास्थ्य सुधारमा पहिलो प्राथमिकता दिएको बताउनुभएको थियो ।

आज पनि प्रदर्शन, को को जाँदै छन् ?
आमरण अनसनरत प्रा.डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउन आज शनिबार पनि नागरिक प्रदर्शन गरिने भएको छ ।
प्रा.डा. गोविन्द केसी ऐक्यबद्धता सञ्जालद्वारा शुक्रवार जारी प्रेस विज्ञप्तिमा आज दिउँसो १२ बजे माइतीघर मण्डलामा हुने प्रद्र्धशनमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी कृष्ण पहाडी, साहित्यकार खगेन्द्र संग्रौला, नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे, माथेमा आयोगका प्रमुख केदारभक्त माथेमा, पत्रकार श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभसहित नेपाल चिकित्सक संघ र विभिन्न संस्थाका प्रतिनिधि सहभागी हुने उल्लेख छ ।

उहाँको जीवन रक्षाको माग गर्दै शुक्रवार साँझ माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको थियो । यसैबीच सञ्जालले जुम्लामा अस्पताल परिसरभित्रै पुगेर सरकारले प्राडा केसीका समर्थकमाथि गरेको दमनको विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्