मण्डन–देउपुरमा ‘मञ्जरी’



काभ्रे । रुद्रबहादुर तामाङको अध्यक्षतामा गठित ११ सदस्यीय मञ्जरी साहित्य प्रतिष्ठानको समुद्घाटन प्रमुख अतिथि जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष तथा जनमत मासिकका प्रधानसम्पादक मोहन दुवाल र उपप्रमुख निर्मला साहीले संयुक्तरुपमा गर्नुभयो । मण्डन–देउपुर नगरपालिकामा साहित्यिक जागरण ल्याउन, अन्य जिल्लासँग साहित्यिक सम्बन्ध विस्तार गर्न, साहित्यिक कृति प्रकाशन गर्न, आफ्नै नगर र जिल्लाका प्रतिभाहरुको कदर गर्नका लागि सो प्रतिष्ठान गठन भएको हो ।

सो अवसरमा जगन्नाथ आचार्य, रामशरण बजगाईं, लक्ष्मण सापकोटा, नरेन्द्रकुमार नगरकोटी, नवराज बजगाईं, निर्मला साहीले शुभकामना मन्तव्यसहित सिर्जना वाचन गरेका थिए । कृष्णशरण बजगाईं र रुद्रबहादुर तामाङले सबै स्रष्टाहरुलाई स्वागत गर्दै साहित्यमा केही न केही गर्ने उद्देश्यसाथ गठन भएको मञ्जरी प्रतिष्ठानमार्फत साहित्यिक जागरण ल्याउने उद्घोष गर्नुभयो । प्रमुख अतिथि साहित्यकार मोहन दुवालले साहित्य मन बहलाउने विषय मात्रै नभएकाले साहित्य देश र जनताको हितका खातिर सिर्जना हुनुपर्ने बताउनुभयो । साहित्यकारले दलविशेषमा रमेर भागवण्डामा आफूलाई समेट्न दिनुहुँदैन भन्दै दुवालले उनीहरुले जहिल्यै पनि प्रतिपक्षका रुपमा रहेर असत्यका विरुद्ध खबरदारी गरिरहनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्