पुस्तक चर्चा: रमणीय गौरीशङ्कर क्षेत्रको फोटो–पुस्तक



-सर्मिला बुढाथोकी
यात्रा गर्न खूबै रुचाउँछन् पत्रकार जीवन लामा । शायद त्यसैले होला उनले आफ्नो नामको पछाडि यात्रा उपनाम जोडेका छन् । स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता र साहित्य लेखनमा सक्रिय रहँदारहँदै पत्रकारितामा लागेका लामा नेपाल पत्रकार महासंघ दोलखा शाखाको अध्यक्षसमेत हुन् ।

छापा पत्रकारिता गर्दागर्दै फोटो पत्रकारितातर्फ सक्रिय देखिएका लामाले हालै गौरीशङ्कर ः विविधतामा एकता नामको फोटो पुस्तकको सम्पादन गरेका छन् । चरिकोट मिडिया फाउन्डेसनले प्रकाशन गरेको फोटो पुस्तकको प्रकाशन व्यवस्थापन दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ९ गौरीशङ्करले गरेको छ ।

हार्डकभरमा प्रकाशित ६० पृष्ठको गौरीशङ्कर : विविधतामा एकता फोटो पुस्तकको दुईवटा विशेषता रहेका छन् । पहिलो, पुस्तकमा गौरीशङ्कर गाँउपालिका वडा नं. ९ गौरीशङ्कर (तत्कालीन गौरीशङ्कर गाविस) भित्रका धार्मिक, प्राकृतिक, सांस्कृतिक, जैविक विविधता आदिलाई उत्कृष्ठ फोटोमार्फत परिचय गराइएको छ । दोस्रो, गौरीशङ्कर गाँउपालिका वडा नं. ९ गौरीशङ्करबाट सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हिमआरोहीहरुको फोटोसहितको परिचय दिइएको छ ।

फोटो पुस्तकमा विभिन्न धार्मिक मठमन्दिर तथा गुम्बा, प्राकृतिक सुन्दरता झल्कने झरना, हिमाल, ताल, प्राकृतिक दृश्य, विभिन्न दुर्लभ पशुपक्षी, फूल तथा जडीबुटी र सामाजिक तथा मानवीय भाव झल्कने एक सय १९ वटा फोटो समेटिएको छ । त्यसै गरी कान्छा सगरमाथा आरोही तेम्बाछिरी शेर्पालगायत ४७ जना हिमआरोहीको व्यक्तिगत विवरणसहितको हिमाल आरोहणसम्बन्धी जानकारी प्रस्तुत गरिएको छ ।

दोलखा गौरीशङ्कर गाँउपालिकाको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ प्रकाशन गरिएको फोटो पुस्तक गौरीशङ्कर : विविधतामा एकता दोलखाको प्राकृतिक सुन्दरताले भरिएको गौरीशङ्करको बारेमा जानकारी लिन चाहने अध्येता, बेदिङ, सिमिगाउँ, च्छोरोल्पा पुग्न चाहने पर्यटक, हिमआरोहीहरुको बारेमा जानकारी लिन चाहने अध्येताहरुका लागि पुस्तक निकै उपयोगी हुने देखिएको छ । सुरज व्यञ्जनकारको डिजाइन रहेको पुस्तकको मूल्य व्यक्तिगत रु. ५००/– र संस्थागत रु. १५००/– रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्