अचाक्ली भयो पार्किङ शुल्क



ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रमा सवारी साधन पार्किङ गर्दा लाग्ने शुल्कमा भारी वृद्धि गरेको छ ।
दुईपाङ्ग्रे सवारीसाधनका लागि प्रतिघण्टा ५ रुपियाँ तिरे पुग्नेमा अब मुख्य शहरी क्षेत्रमा २५ र अन्य क्षेत्रमा १५ कायम गरिएको छ । यस्तै मुख्य शहरी क्षेत्रमा चारपाङ्ग्रे सवारीसाधनको प्रतिघण्टा ८० र अन्य क्षेत्रमा ४० रुपियाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

अन्य क्षेत्रमा चारपाङ्ग्रेभन्दा बढीका लागि सय रुपियाँ तिर्नुपर्ने भएको छ । क्षेत्र नम्बर १ अन्तर्गत न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग र भित्री शहरी क्षेत्रमा पर्ने त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरसम्मको काठमाडौं मध्यभागका सार्वजनिक बाटो रहेका छन् । क्षेत्र नम्बर २ अन्तर्गत क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका सार्वजनिक बाटोलगायत तोकिएका स्थान रहेका छन् ।

–५ रुपियाँ तिर्दा पुग्ने शुल्क २५ पुग्यो
–मुख्य शहरी क्षेत्रमा चारपाङग्रेको प्रतिघण्टा ८० रुपियाँ

कामपा नगरसभाले साउन १ देखि लागू हुने गरी पार्किङ शुल्क लगाउने निर्णय गरेको हो । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले दुईवटा क्षेत्रका ८२ वटा स्थानमा पार्किङ गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिँदै भन्नुभयो–‘स्थान पहिचान गरिसकेका छौ, केही दिनमै टेन्डर आह्वान गरेर ठेक्कामा दिनेछौँ ।’ कामपाले जारी गरेको आर्थिक ऐन, २०७५ को अनुसूची ११ मा पार्किङको विषय उल्लेख छ ।

सडक विभाग, ट्राफिक प्रहरी र कामपा गरी तीन निकायको संयोजनमा पहिचान गरिएका सडक किनारमा मार्किङ गर्ने, पार्किङ चिन्ह राख्नेलगायतका प्राविधिक काम सकेपछि मात्र पार्किङ गर्ने व्यवस्था गर्न लागेको उहाँले बताउनुभयो । आर्थिक ऐनको अनुसूची ११ मा सवारीसाधन पार्किङ शुल्कको दररेट तोकिएको छ । उक्त ऐनअनुसार क्षेत्रगत आधारमा सडकमा स्पष्ट रेखाङ्कन गरी, प्रवेश र बर्हिगमन फरकफरक हुने गरी कुनै पनि सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी आधुनिक प्रविधि प्रयोगको माध्यमबाट समयको आधारमा आफैं वा निजी क्षेत्रको सहयोगमा सःशुल्क सवारी पार्किङ व्यवस्थापन गरिने उल्लेख छ ।

‘हामीले एक लाइन मात्रै पार्किङ गर्न मिल्ने गरी व्यवस्थापन गर्न लागेका छांै, अस्तव्यस्त सवारीसाधनका व्यवस्थापन गर्न पुनः पार्किङ शुरुआत गरेका हौं’ –प्रवक्ता कार्कीले भन्नुभयो । २०७० सालमा कामपाले सडकमा सवारी पार्किङ व्यवस्था खारेज गरेको थियो । त्यसको पाँच वर्षपछि स्थानीय जनप्रतिनिधि आएसँगै चालू आवदेखि हचुवाको भरमा शुल्क वृद्धि गरी उठाउने व्यवस्था गरिएको हो ।

सवारीसाधन चलाउने सवारी धनीको पार्किङ शुल्क तिर्दा नै ढाड सेकिने अवस्था सिर्जना भएको छ । अनुसूचीमा उल्लेख भएअनुसार अनुुमति लिएर निजी क्षेत्रबाट निजी घर, जग्गामा अनुमति लिई व्यवसाय दर्ता गरी सःशुल्क सवारी पार्किङ व्यवसाय सञ्चालन गर्न सकिने जनाइएको छ ।

लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारीसाधन पार्किङ गर्ने व्यवसायीलाई उक्त व्यवसायमा लाग्ने व्यवसाय करमा ५ वर्षसम्म शतप्रतिशत छुट प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्