जापानमा अत्याधिक गर्मीः मर्नेको संख्या ३० पुग्यो,१० हजार बढि अस्पतालमा



राजबिन थापा,टोकियो ।
जापानको पश्चिमी तथा पूर्वी क्षेत्रमा बढिरहेको तापक्रमका कारण ३० जनाको मृत्यु भएको जापानीज क्योदो न्यूजमा खबर प्रकाशित गरिएको छ । गर्मीकै कारण बिरामी बनेका १० हजारभन्दा बढि अस्पताल भर्ना भएको उक्त समाचारमाध्यमले उल्लेख गरेको छ ।

लगातारको गर्मीको कारण जापानमा पाँच वर्षपछि पहिलो पटक तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको हो । विभिन्न विद्यालयहरुमा दर्जनौं विद्यार्थीहरु गर्मीका कारण बेहोस तथा अन्य स्वास्थ्य समस्यामा परेर आपतकालिन अवस्थामा अस्पताल भर्ना भएको बताइएको छ ।

बिहिबार क्योतोमा ३९.८ डिग्रि तापक्रम मापन गरिएको थियो भने जापानको समग्र तापक्रम ३५ डिग्रि मापन गरिएको छ । उच्च तापक्रम विद्र्धिका कारण स्वास्थ्यमा समस्या देखा परेपछि अस्पताल भर्ना भएको संख्या टोकियोमा मात्र ३ हजार भन्दा बढि पुगेको जापानीज समाचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

जापानमा तापक्रम ३४ डिग्री सेल्सियस भन्दा माथि पुग्नु भनेको अत्यधिक गर्मी हुनु हो र यो समयमा अरु गर्न केही नसकेपनि पानी भने प्रशस्त पिउनुपर्ने विज्ञहरुले आग्रह समेत गरेका छन् । यसका साथसाथै अत्याधिक गर्मीमा लामो समय नबस्न तथा गर्मी छल्ने कपडाहरु लगाउन उनीहरुको सुझाव छ ।

जापानका २ सय भन्दा बढी स्थानको तापक्रम ३४ डिग्री सेल्सियस भन्दा माथि रहेको तथ्याङ्क छ । यस्तो सन् २०१४ मा पनि भएको थियो । गत वर्ष मात्रै मे र सेप्टेम्बरको बीचमा ४८ जनाको मृत्यु भएको थियो र जुलाईमा ३१ जनाले ज्यान गुमाएको अग्नी तथा विपत व्यवस्थापन विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्