थपिएको म्यादमा पनि सकिएन दिपायल विमानस्थलको काम



विमल विष्ट, डोटी ।
डोटीको दिपायल विमानस्थलको कालोपत्रेको काम तोकिएको समयमा सम्पन्न हुन सकेको छैन । संगै काम सुरु गरिएको अछामको साफेबगर विमानस्थलको निर्माण कार्य सम्पन्न भएर परिक्षण उडान भईसक्दा समेत दिपायल विमानस्थलको निर्माण कार्य भने अझै अधुरो रहेको छ ।

२०५८ सालबाट वन्द भएको यो विमानस्थल पुनः सचालनका लागि काम सुरु भएको थियो तर दोश्रो पटक थप भएको समयमा पनि कालोपत्रेको कार्य भने नसकिने देखिएको छ । १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि साउन महिना सम्मका लागि म्याद थप हँुदा समेत दिपायल विमानस्थलको कालोपत्रेको कार्य पुरा हुन नसकेको हो ।

२०७३ साल कार्तिकमा काम सुरु गर्नुपर्ने भएपनि ढिलोगरी फागुनबाट मात्रै काम सुरु गरिएको थियो । अहिलेसम्म विमानस्थल कालोपत्रेको ६० प्रतिशत काम भएको दावी गरिएको छ तर अहिले सम्म कालोपत्रे भने सुरु भएको छैन् ।

विमानस्थल निर्माण कार्यका ईन्जिनियर बालकृष्ण रेग्मीले निर्माण व्यवसायीले विभिन्न वहाना देखाउँदै काममा लापरबाही गरिरहेको बताउनु भयो । करिब चार सय ९० मिटर लम्बाई भएको सो विमानस्थलको कालोपत्रे गर्नका लागि झण्डै साढे ५ करोड बजेट विनियोजन गरिएको छ ।

डेढ दशक देखि ओझेलमा परेको विमानस्थल कालोपत्रे गर्ने योजना आएपछि डोटेली जनता खुसी भएका थिए तर निर्धारित समय सकिएर ६ महिनाको समय थप्दा पनि कालोपत्रेको कार्य सकिने छाँटकाँट नदेखिएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘काम पहिले नै सकिनु पर्ने हो तर निर्माण ब्यबसायीहरुले बिभिन्न बाहना बनाएर काममा ढिलाई गर्दा काम लम्बिएको हो ।’ लामो समयदेखि गौचरणमा परिणत दिपायल विमानस्थल सञ्चालनमा आए प्रदेश नम्बर ७ का पहाडी जिल्लाको आर्थिक सम्वृद्धिसंगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

संगै काम सुरु गरिएको अछामको साफेबगर विमानस्थलमा परिक्षण उडान हुँदा समेत दिपायल विमानस्थलको स्तरोन्नति देखी लिएर कालोपत्रे सम्म नहुँदा स्थानियबासीहरु आक्रोसित हुन थालेको दिपायलका स्थानिय पुष्कर द्धारीयाले बताउनु भयो । ‘संगै काम सुरु गरेको छिमेकी अछाम जिल्लामा जहाज आई सक्यो हाम्रो बिमान स्थलमा काम नै सकिएको छैन उहाँले भन्नु भयो ‘लापर्वाहि गर्ने निर्माण ब्यबसायीलाई कस्ले कार्वाहि गर्ने ।’

चार ९० मिटर लम्बाइको धावनमार्ग रहेको यो बिमान स्थल लाई स्तरोन्नती गरी एक हजार मिटर लम्वाईको धावन मार्ग बनाउने माग पनि हुदै आएको छ । जग्गा अधिग्रहणका लागि सहमति भएपनि आगामी अर्थिक बर्षको लागि प्रदेश र संघीय सरकारले बजेट विनियोजन नगर्दा उक्त योजना पनि अलपत्र पर्ने देखिएको छ ।

आफ्नै पहलमा विमानस्थलको काम सुरु भएको दावी गर्दै आएका प्रतिनिधि सभा सदस्य प्रेम आलेमगरले बिमानस्थलको स्तरोन्नतीका लागि बजेट आउने दाबी गर्नु भएको स्थानियबासीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्