फेरि एकसाथ ३ फिल्म



वल्र्डकप फुटबल खेलका कारण फिल्म रिलिजमा कमी आए पनि विश्वभरिको चासो रहेको खेल सकिएलगत्तै सिने बजारमा धमाधम बढीभन्दा बढी फिल्म रिलिज हुन थालेका छन्। यसै क्रममा आज शुक्रबार एकसाथ ३ फिल्म रिलिजमा आउने भएका छन्।

अघिल्लो शुक्रबार एकसाथ ४ फिल्म आएको सिने बजारमा यो साता चक्कर, भैरे र पण्डित बाजेको लौरी गरी ३ फिल्म रिलिज हुने भएका छन्।

डाइङ क्यान्डलका चर्चित सिनेमाटोग्राफर रविन आचार्यद्वारा नवनिर्देशक अनुश्का रौनियरलाई निर्देशनको जिम्मा दिइएको फिल्म चक्कर आज शुक्रबारबाट अल नेपाल रिलिज हुँदै छ। लेखन र सम्पादनसमेत निर्देशक रौनियारकै रहेको फिल्म निर्माता आचार्यले नै खिचेका छन्। अभोनराज उप्रेती, अर्पण थापा, सिर्जना सुब्बा, ऋचा शर्मा, भोलाराज सापकोटा, स्मृति पोखरेललगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म हिंस्रक प्रेमकथामा बनेको छ। नेसनल मिडियो प्रोडक्सनको प्रस्तुतिमा केटीएम हाउस प्रोडक्सनद्वारा निर्मित फिल्ममा संगीत संगम पन्त र पुष्पा पलाञ्चोकेको रहेको छ।

त्यसै गरी आजै रिलिज हुन लागेको अर्को फिल्म भैरे एभरेस्ट सूर्य बोहोराको लेखन र निर्देशनमा बनेको छ। दयाहाङ राई, सुरक्षा पन्त, वर्षा शिवाकोटी, सुनील थापा, बुद्धि तामाङ, जयनन्द लामा, सविता गुरुङ, जा≈नवी बोहरा, अनुभव रेग्मी, अर्जुन गुरुङ, लेखबहादुर पुन, समेश श्रेष्ठ, सयाहाङ राई, कञ्चन ठकुरी, शूरवीर पण्डितलगायतले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म नेपालय सिनेमा इन्टरनेसनल प्रालिको ब्यानरमा प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले निर्माण गरेका हुन्। फिल्ममा गीत एभरेस्ट सूर्य बोहरा र वसन्त सापकोटा, संगीत वसन्त सापकोटा, अर्जुन पोखरेल र एम बराल, नृत्य निर्देशन वसन्त श्रेष्ठ र कविराज गहतराज, द्वन्द निर्देशन सूर्य थोकर, छायांकन पुरुषोत्तम प्रधान, सम्पादन र बनिष शाहको रहेको छ।

आजै रिलिज हुन लागेको अर्को फिल्म पण्डित बाजेको लौरी दीपक ओलीले निर्देशन गरेका छन्। वादीको कथामा बनेको फिल्ममा विजय बराल र सन्ध्या केसी वादी र बदिनीको भूमिकामा छन् भने अन्य प्रमुख भूमिकामा भोलाराज सापकोटा, प्रवीण खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र विक, विशाल पहारी, कुलदीप अधिकारीलगायतले अभिनय गरेका छन्।

अध्रित फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्ममा महेश दुवाडीको कथा र संवाद, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, विदुर पाण्डेको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्