हेटौंडामा पहिलो पटक कोरा साइक्लिङ



हेटौंडा,(नेस)
‘कोरा’ नामक साइक्लिङ च्यालेञ्ज प्रतियोगिता हेटौंडामा पहिलो पटक हुने भएको छ । ‘हेटौंडा कोरा–२०१८’ साइक्लिङ च्यालेञ्ज शनिबार हुने भएको हो ।

हेटौंडा राइडर्स क्लबले गरेको साइक्लिङमा देशभरका २ सय साइकल राइडरले सहभागिता जनाउने क्लब अध्यक्ष विकास ताम्राकारले बताए । साइक्लिङका बेलामा सडकसँग नजिक रहेका मठमन्दिर चैत्य गुम्बालाई भित्र पारी यात्रा गरिनेछ ।

हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु भएर बुद्धचोक, चौकीटोल, बनस्खण्डी, पिप्ले, मत्स्यपालन केन्द्र, चौघडा, चुच्चेखोला, राजदेवी, एक्लेखेत, फुर्केचौर, हर्नामाडीको गुम्बाडाँडा, हटिया, शिखरपानी, सल्लाघारी, नयाँवस्ती हँुदै कुष्माण्ड सरोवर त्रिवेणीधाम, कर्राको गुम्बा भएर पशुपति मन्दिरबाट पुनः बुद्धचोकमा आउने रुट गरिएको क्लब सचिव सफल अधिकारीले बताए । यात्राका क्रममा ४० भन्दा बढी मठ÷मन्दिर र चैत्य÷गुम्बाको भ्रमण गरिँदा करिब ५० किलोमिटर यात्रा गरिने अधिकारीले बताए ।

कार्यक्रममा सहभागीबाट स्वविवेकले संकलित रकम नेपालका साइक्लिङ च्याम्पियन नारायणगोपाल महर्जनको परिवारलाई आर्थिक सहयोग गरिने क्लब अध्यक्ष ताम्राकारले बताए ।

श्रीलंकाको नदीमा खसेर माउन्टेन बाइकर महर्जनको मृत्यु भएको थियो । इन्टरनेसनल रेस प्रतियोगितामा सहभागी काठमाडौंका महर्जनको महावेली नदीमा खसेर मृत्यु भएको थियो ।
श्रीलंकाको राजधानी कोलम्बोबाट २ सय ३० किलोमिटर दुरीमा रहेको कुडाओया नदीमा खसेर उनको मृत्यु भएको थियो ।

श्रीलंकन एयरलाइन्सले ‘रुम्बल इन जंगल’ नारा दिएर ९ जूनदेखि १५ जूनसम्म अन्तर्राष्ट्रिय रेस प्रतियोगिता गरेको थियो । ३९ प्रतियोगी रहेको प्रतियोगितामा नेपालसँगै बेलायत, जर्मन, इटाली र स्विट्जरल्यान्डका बाइक राइडर सहभागी थिए । महर्जनको मृत्युपछि प्रतियोगिता स्थगित गरिएको थियो ।

छ पटकका च्याम्पियन अजय पण्डितलाई एक मिनेट २३ दशमलव ४७ सेकेन्डले उछिनेर महर्जनले २०६८ मा करिअरकै पहिलो उपाधिकारुपमा साँखु माउन्टेन बाइक च्याम्पियनसिप जितेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्