नारायणको उपचारका लागि जुट्यो दुई लाख ६४ हजार



विमल विष्ट, डोटी
करेण्ट लागेर दुवै हात गुमाएका नारायण खड्काको उपचारका लागि दुई लाख ६४ हजार ६ सय ३० रुपैयाँ आर्थिक सहयोग जुटेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या आएको समाचार प्रकाशन भएपछि उनको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न लागिएको हो । आर्थिक संकलनका क्रममा हालसम्म बिभिन्न समूहले सहयोग गरिरहेको उनका आफन्त होटेल व्यवसायी संघ डोटीका अध्यक्ष एवं आर्थिक संकलन अभियानका सुरुवातकर्ता दिपकवहादुर खड्काले वताउनु भयो । उहाँले आफ्नै नेतृत्वमा एक लाख २४ हजार सात सय ४५ रुपैयाँ संकलन भएको बताउनु भयो ।

खड्काले संकलन गरेको रकममध्ये ६७ हजार नौ सय ९५ पीडित नारायण खड्काकी श्रीमती कौसिल्ला बोगटीको नाममा राष्ट्रिय बाणिज्य बैंक सिंहदरवार, काठमाडौं शाखामा खोलिएको खातामा जम्मा गरिएको छ भने बाँकी रकम उपचारका क्रममा काठमाण्डौंमा रहेका नारायणका जेठा वुवाका छोरा योगेन्द्र खड्काको नाममा रहेको खातामा जम्मा गरिएको छ ।

कौसिल्लाको नाममा खाता खोल्नु पूर्व संकलन भएको रकम योगन्द्रको नाममा पठाईएको खड्काले जानकारी दिनु भयो । त्यस्तै निर्माण व्यवसायी संघ डोटीका प्रथम उपाध्यक्ष रमेशबहादुर खडायतको पहलमा एक लाख २२ हजार दुई सय रुपैयाँ संकलन भएको छ ।

स्थानीय समाजसेवी गणेश भट्ट र नयनवहादुर खड्का लगायतको सहयोगमा संकलन गरिएको उक्त रकम कौसिल्लाको खातामा जम्मा गरिएको खडायतले बताउनु भयो ।
यस्तै खप्तड युवा समाज काठमाण्डौंले १५ हजार ६ सय ८५ रुपैयाँ संकलन गरेको छ । यस्तै हर्क देउवा र योगेन्द्र कठायतले एक÷एक हजार रुपैयाँ खातामा जम्मा गरिदिएका छन् ।

बिद्युतको स्पेर पोल झिक्ने क्रममा गएको असार १९ गते पोल ढल्न गई करेण्ट लागेर गम्भिर घाईते भएका डोटीको आदर्श गाउपालिका १ का २६ बर्षीय नारायण खड्काको काठमाण्डौं स्थित किर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । उनका दुवै हात काम नगर्ने भएपछि काटिएका छन भने ढाडको शल्यक्रिया भएको छ ।

उनको टाउको र खुट्टमा समेत समस्या रहेको छ । उक्त घटनामा पनि स्थानीय चार युवाहरुले घटनास्थलमै ज्यान गुमाएका थिए भने नारायण घाइते भएका थिए । समाचार प्रकाशन भएपछि आर्थिक सहयोग संकलन गर्न सहज भएको दिपक खड्काले बताउनु भयो । उहाँले विदेशबाट समेत सहयोग गर्ने आश्वासन आईरहेको जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्