सवारी दुर्घटनाबाट १ सय ६६ को मृत्यु



विमल विष्ट, डोटी
आर्थिक वर्ष २०७४÷०७५ मा प्रदेश ७ मा २१९ सवारी साधनहरु दुर्घटनामा १६६ जनाको मृत्यु भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जनकारी अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको तथ्यांकमा देखाएको छ । यस आर्थिक वर्षमा प्रदेश ७ मा १९ टयाङकर, ३५ बस, ३१ जीप–कार, २७ ट्रयाक्टर, ७ टेम्पो, ८२ मोटरसाइकल, १६ साना सवारी र २ अन्य गरी जम्मा २ सय १९ सवारी साधनहरु दुर्घटनामा परेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक टेकबहादुर जोराले जानकारी दिनु भयो ।

उहाँका अनुसार हरेक आर्थिक वर्षमा मोटरसाइकलहरु बढी सवारी दुर्घटनामा पर्ने गरेको र यस आर्थिक वर्षमा पनि सबैभन्दा बढी सवारी दुर्घटनामा मोटरसाईकलहरु रहेका छन् । ट्राफिक प्रहरीको तथ्यांक अनुसार प्रदेश ७ मा आर्थिक वर्ष २०७१÷०७२ मा २ सय ११, ०७२÷७३ मा २ सय ७ र ०७३÷७४ मा २ सय ५५ ओटा सवारी साधनहरु दुर्घटनामा परेको तथ्यांकमा उल्लेख छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार गत आर्थिक बर्षको भन्दा यस आर्थिक वर्षमा दुर्घटनामा केही कमी आएको छ । यस आर्थिक वर्षमा सवारी दुर्घटनामा परि १ सय १३ जना पुरुष, ३६ जना महिला र १७ जना बालबालिका गरी जम्मा १६६ जनाको मृत्यु भएको छ ।

त्यस्तै १ सय ३३ जना गम्भीर घाइते भएका छन् भने २ सय ५ जना सामान्य घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको भएपनि मानविय क्षती भने यस आर्थिक वर्षमा वृद्धि भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाको तथ्यांकमा उल्लेख गरिएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार यो आर्थिक बर्षमा सवारी घटनामा परी सबैभन्दा बढी डोटीका स्थानियले ज्यान गुमाएका छन् ।

प्रदेश ७ को पहाडी जिल्लाभन्दा तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बढी दुर्घटना हुने गरेको भएपनि तराईका जिल्लामा सवारी दुर्घटनामा बिगतभन्दा केही कमि भएको छ । ट्राफिकको नियम पालना नगर्नु, क्षमता भन्दा दोब्बर यात्रु तथा सामान राख्नु, मदिरा सेवनगरी सवारी साधनहरु चलाउनु र सडकको अवस्था राम्रो नहुनु सडक दुर्घटनाका प्रमुख कारणहरु रहेको क्षेत्रीय ट्राफिक प्रहर िनिरिक्षक टेकबहादुर जोराले दाबी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्