पहिरो पिडीत सुकुम्बासीको पिडा: न बस्ने घर न बनाउने ठाउँ छ



दुर्गाप्रसाद शर्मा: जलजला, पर्वत
आफ्नो भन्ने जमिन थिएन, दुई दशक अघि सुकुम्बासीका नाममा पाएको भिरालोपाखो पनि मंगलबार राती आएको पहिरोले बगायो । सुकुम्बासीको रुपमा भिरालो पाखो जमिन पाएपछि बनाएको घर पनि पहिरोले बगायो । अब न बस्ने बास छ न घर बनाउने ठाउँ नै बाँकी छ ।

जलजला गाउँपालिका वडा नं ८ लस्ती वरनेटा मा मंगलबार राती पहिरो जाँदा बिस्थापित भउका २२ घर सुकुम्बासी परिवारको पिडा हो यो । २०५४ सालमा घर बनाउन भीरालो जमिनमा सुकुम्बासीका नाममा पाएको जमिन र घर बगाईदिएपछि उनीहरु सडकमा पुगेका छन । ‘भएको घर पनि पहिरोले बगायो’ नजिककै लस्ती सनराईज बोडिङ्गमा आश्रय लिएर बस्दै आएका सन्ते परियारले भने ‘अब घर बनाउनलाई जमिन पनि बाँकी छैन, ।

केटाकेटीलाई यो बर्षामा कता लगेर ओत लगाउने हो भन्ने चिन्ता रहेको उनले बताए ।
छिमेकी धाइरिङ्गबाट २०२७ सालमा बसाई झरेका ८० बर्षे बृद्ध झरसिंह दर्जीका आँखा आँशुले भरिएका छन । आफ्ना चार जना छोरा, नाती र दुई छोरीको गरि ७ घर त पहिरोमा परेपछि बुढेसकालमा कल्पना सम्म नगरेको पिडा थपिएको महसुस उनले गरेका छन ।

‘सन्तानले बस्ने बास पाउलान भनेर सुकुम्बासीको रुपमा पाएको सबै जमिन र घर बगाईदियो’ उनले भने ‘मेरा सन्तानको बिचल्ली यो बुढेसकालमा देख्नु परेको छ’ पहिरोले छोरा बमबहादुरको घर बगाउँदा १६ बर्षे नाती बिकास परियारको मृत्यु भएको छ ।

उनका छोराहरु बमबहादुर, सन्तबहादुर, रामबहादुर र गोपालबहादुर तथा छोरी बिष्णु र टुकाको घर पनि बस्ने अवस्थामा छैनन । नाति गुमाउनुको पिडा र परिवारका सदस्यहरु सडकमा पुगेको देख्नै नसकेको उनको भनाई छ । ‘सोच्दै नसोचेको भयो हजुर, म बुढो त सम्हालिन सकेको छैन, अरुले मन बुझाउने कसरी होला ’ उनले आँखाभरी आँशु बनाउँदै भने ।

बरनेटा बस्ती माथिबाट आएको पहिरोले ४ घर बगाएको छ भने ९ घर पुर्णरुपमा क्षति भएका छन । १४ घर पनि पुर्ण जोखिममा छन । बरनेटामा अब बस्ती बसाल्न संभब नभएको निष्कर्ष पिडीतहरुको छ । साउने संक्रान्ति मनाएर राती १० बजे सुतेका उनीहरु १ बजे ठुलै बिपत्ति मा परे । घरमाथिबाट आएको पहिरोले बस्ती नै बगाउने अवस्था आएपछि रातमा भागेर ज्यान बचाए तर अब कसरी बस्ने भन्ने चिन्ता छ ।

घर चर्किएको र फेरी पनि पहिरो आउने खतरा भएकाले घरमा बस्ने अवस्था नभएको श्रीलाल परियार बताउँछन । ‘अब यो गाउँमा बस्न सक्ने अवस्था छैन’ उनले भने ‘गाउँमा अन्यत्र घर बनाएर बस्न जमिन किन्न पैसा पनि छैन, कसरी केटाकेटीलाई बर्षे झरी ओताउने हो भन्ने चिन्ता छ’

बरनेटामात्रै होइन लस्तीखोलामा आएको बाढीले लस्तीबजार नै जोखिममा परेको छ । खोलाको बाढीले जमिन कटान जारी राखेको छ । लस्तीबजारका दिननाथ आचार्य, कृष्णबहादुर पुन, लक्ष्मी नेपाली, समिक्षा चोचाङ्गी, मानबहादुर चोचाङ्गी, बम्बे दमाईको घर जोखिमा परेको छ । जमिन खोलाले कटान गर्दै घरमै पुगेको दिननाथ आचार्यले जानकारी दिए । ‘ हामी पनि बस्न सक्दैनौ, सुरक्षित स्थानमा सार्नुपर्ने आवश्यकता छ’ उनले भने । ‘बस्ती नै स्थानान्तरण गरेर अन्यत्र बसाल्न आवश्यक छ’

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) पहिरो र बाढी पिडीतलाई तत्काल बिद्यालयमा राखिएको बताउँछन । ‘बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था भएकाले जमिन खोज्ने, खोला संरक्षण गर्ने र अन्य बिकल्पका बारेमा गाउँपालिकाले छलफल गरेर आवश्यक निर्णय गछौ’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्