असारे विकासको छानबिन होस्



असारमा सडकमा गरिएको लगानीको पूर्णरुपमा मूल्यांकन गर्ने बेला आएको छ । विगतका वर्षझैँ यो वर्ष पनि सडकमा गरिएको लगानी खेर जाने अवस्था छ । कतिपय ठाउँमा त काम नभएको जस्तै भइसकेको छ । कालोपत्रे उप्किएको छ । कतिपय नाली विस्तार नगरेरै खनिएका सडकमा यस्तो समस्या बढेको गुनासो धेरै आउन थालेको छ ।

कार्यकर्ता भिजाउनका लागि वडा–वडामा गरिएको सडक विकासले धेरै विकृति ल्याएको छ । यस्ता विकृति रोक्दै अब स्थानीय सरकारले सडकमा हुने लगानीलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने देखिएको छ । जति करोड पनि लगानी गर्न मिल्ने र जति लाख पनि सकिएको बिल देखाउन मिल्ने सडकमा धेरै लगानी गर्नुले पनि बदमासी हुन सक्ने आशंका गर्ने ठाउँ प्रशस्त छ ।

हरेक स्थानीय तहले गाउँ वा नगरसभाबाटै नीति पास गरेर नालीसहितको पक्की सडक निर्माण गर्नेबारे गुरुयोजनामार्फत काम अगाडि बढाउनु जरुरी छ । यसो नगरे हरेक वर्ष सडकमा लगानी हुने रकम वर्षातको भेलझै अर्थहीन हुन्छ ।

असार महिनामा बजेट सक्न र कार्यकर्ता पोस्न छरिने रकमले न विकास भएको छ न त समृद्धि ? व्यापक भ्रष्टाचार गर्न विकासका काम असार महिनालाई थाती राखेर करोडौं कुम्ल्याउनेहरुको माथिसम्मै साँठगाँठ रहेको प्रस्ट हुन्छ । त्यसैले असारमा गरिएका विशेष गरी सडकका कामको छानबिन होस् ।
– सुरज विक, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्