चतुर मोदी र हाम्रो नियति



-नगेन्द्रराज पौडेल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हरेक दृष्टिले चतुर देखिन्छन् । केही मौलिक अनुप्रासीय शब्द संयोजनद्वारा आफ्नो भनाइमा तिख्खरता ल्याउने उनको कला हरेक भाषणमा र नेपाल भ्रमणका बेलाका हरेक क्रियाकलापमा प्रस्टरुपमा देख्न सकिन्छ । गत भ्रमणमा उनले सागर र सगरमाथासँग नेपालको स्वाभिमानलाई तौलेर गए ।

भारतकै निगाहमा हामी दिनानुदिन कति परावलम्बी हुनुपरेको छ भन्ने कुरा उनकै देशले लगाएको नाकाबन्दीबाट उनले थाहा नपाएका होइनन् । तैपनि तीजको कुरा गरेरै भए पनि खाएझैँ गराउने उनको कला अचम्मकै छ । जहाँ जे बोल्नुपर्छ, त्यहाँ त्यही बोल्न उनी सिपालु छन् । यसअघि उनी नेपालमा धार्मिक यात्रुका रुपमा आए, राजनीतिज्ञका रुपमा फर्किए । यो चातुर्यता कमै राजनीतिज्ञसँग मात्र हुन्छ । जानकी, मुक्तिनाथ र पशुपतिको पूजाअर्चना गरे । राजनीतिक भेटघाटलाई बाक्लो पारे ।

यता जब उनी शक्तिपीठको पूजाअर्चनामा हुँदा उता उनकै देशको दक्षिणी प्रदेश कर्नाटक राज्यमा चुनाव हुँदै थियो । धेरैले उनको यो धार्मिक यात्रा कर्नाटककै चुनाव जित्ने गरी परिलक्षित थियो पनि भने । साँच्चे त्यस्तै देखियो पनि । नभन्दै कर्नाटकमा उनको पार्टी भाजपाले २२४ संसदीय सदस्यमा १०४ सिट ल्याई अन्य पार्टीभन्दा ठूलो दल बन्यो ।

मुख्यमन्त्रीमा नियुक्त भएको ५५ घन्टा नबित्दैै अदालतको आदेशानुसार विश्वासको मत लिनुपर्दा हिम्मत गर्न नसकी उनकै पार्टीका मुख्यमन्त्रीले राजीनामा नै दिनुप¥यो । बहुमत नहुँदा नहुँदै पनि मुख्यमन्त्रीमा नियुक्त गर्ने त्यहाँको गभर्नरसमेत विवादमा मुछिए । पछि त्यहाँ गठबन्धनका तर्फबाट कुमारास्वामी देबेगौंडा मुख्यमन्त्री नियुक्ति भए । आफूलाई लोकतन्त्रका दुहाइ दिने मुलुकका लागि यो भन्दा शर्मानक विषय अर्को के हुन सक्छ ? त्यसमाथि मोदीको चातुर्यताले पनि यहाँनेर हार्नुप¥यो ।

मोदी–स्तुति: बाध्यता कि नियति ?
मोदी–स्तुति हाम्रो बाध्यता मात्र हो वा नियति, बुझ्न सकिएको छैन । प्रत्येक पटकको आगमनमा उनलाई ठाउँ–ठाउँबाट नागरिक अभिनन्दन गरिन्छ । हाम्रो गुह्य कुरा सुनाइन्छ । उनको गत नेपाल भ्रमणका बेला पनि यस्तै गरियो । २ महिनाअघिको मोदी आगमनलाई प्रदेश २ ले प्रतिष्ठाको विषय बनाएको थियो ।

प्रशिद्ध तीर्थस्थल जानकी पनि यसै प्रदेशमा पर्ने भएर होला, उनी सीधा यही प्रदेशतिरै हुइँकिए । प्रदेश २ को सरकारले उनको नागरिक अभिनन्दनको आयोजना ग¥यो । यसै सन्दर्भमा मञ्चमा राखिएका भारत र नेपालका राष्ट्रिय झन्डाहरुमध्ये नेपालतर्फको राष्ट्रिय झन्डाको स्वरुप नै बिगारेर राखिएको देखियो । आकार, बनोट र स्वरुपमा नेपालको झन्डा नेपालको संविधान २०७२ को अनुसूची १ ले निर्देश गरेअनुसार हुन्छ ।

तर त्यहाँ त्यस्तो भएन । अभिनन्दन कार्यक्रममा संघीय मन्त्रीसमेत उपस्थित थिए तर कसैले ख्याल गरेनन् । पछि वक्तव्यका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘विभेदकारी संविधानविरुद्घ आफूहरुको संघर्ष जारी रहेको’ भन्दै संविधानको खिलाफमा बोले भनेर समाचार आयो । विचरा सोझा हाम्रा मुख्यमन्त्री मोदीले केही राहत थमाइहाल्छन् कि भन्ने भ्रममा परे । सबै कुरा सुनाए । जबकि यी सब कुराका बारेमा मोदी उहिल्यैदेखि जानकार थिए । लालबाबुको गाथाशोक अरण्यरोदनमा परिणत भयो ।

आन्तरिक मामला विदेशी पाहुनालाई सुनाइँदैन तर त्यहाँ सुनाइयो रे । जुन संविधानले लालबाबुलाई मुख्यमन्त्री बनायो त्यही संविधानको खिलाफमा उनी बोल्नु तर्कयुक्त थियो÷थिएन, राजनीतिका जानकारहरु भन्लान्, तर आफैंले आयोजना गरेको कार्यक्रममा नेपालको राष्ट्रिय झन्डा बिगारेर राखेको सुइँकोसम्म किन पाएनन् ?

एउटै मञ्चमा भएका २ झन्डामध्ये भारतको चुस्त–दुरुस्त हुनु अनि नेपालकोचाहिँ नहुनु पनि के नियति मात्रै हो त ? कतै मुख्यमन्त्रीको सोझोपनको गलत फाइदा अरुहरुले त उठाएनन् ? सोचनीय छ । यसै विषयलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश २ का प्रमुख सचिवसहित अन्य ३ जनालाई स्पष्टीकरण सोधेको समाचार आए पनि क–कसलाई के–के कार्वाही भयो वा भएन, यसको विवरण भने आजपर्यन्त सार्वजनिक भएको छैन ।

मारमा बीएस यदियुरप्पा
दुई महिनाअघि सम्पन्न मोदीको नेपाल भ्रमणको सन्दर्भलाई लिएर भारतमा पनि उनको चर्को विरोध भएको थियो । प्रतिपक्षी भारतीय कांग्रेसका महासचिव तथा वरिष्ठ नेता अशोक गहलोतले उनको भ्रमण नेपाल––भारतको सम्बन्ध सुधार्नका लागि नभएर भारतको दक्षिण प्रदेश कर्नाटकमा हुँदै गरेको विधानसभाको चुनाव प्रभावित गर्ने लक्ष्यले प्रेरित भएको टिप्पणी गरेका थिए ।

नभन्दै त्यहाँ भाजपाले धेरै सिट ल्याई अन्य पार्टीभन्दा ठूलो दल त बन्यो तर सरकार गठनका क्रममा भने ठूलै धक्का सहनुप¥यो । ठूलो दलका हैसियतमा त्यहाँ भाजपाकै बीएस यदियुरप्पा मुख्यमन्त्री नियुक्त त भए तर अल्पमतको दललाई सरकार गठन गर्न लगाएकोमा विपक्षीहरुले कर्नाटकका गभर्नर वाजुभाइ पालाको तीव्र आलोचना गरे । गभर्नरले यदियुरप्पाको बहुमत नपुग्ने थाहा हुँदाहुँदै १५ दिनभिन विश्वासको मत लिने गरी मुख्यमन्त्रीमा नियुक्त गरी सपथसमेत दिलाएकोमा उनको चर्को आलोचना भयो ।

अन्ततः सांसद खरिद–बिक्री हुन सक्ने आशंकामा विपक्षीहरु तुरुन्त विश्वासको मत लिन भारतको सुप्रिम कोट गुहारे । सुप्रिम कोटको आदेशले गत जेष्ठ ५ गते विश्वासको मत लिनुपर्ने भयो । अन्ततः विश्वासको मतका क्रममा शक्ति परीक्षण नै नगरी वक्तव्य दिएर ५५ घन्टाअघि अर्थात् जेठ ३ गते बिहीबार मात्र मुख्यमन्त्रीमा नियुक्त भएका यदियुरप्पाले राजीनामा दिन बाध्य भएका थिए । ‘बाठो खान्छ तीन बल्ड्याङ’ भनेझैँ यो घटनाले धार्मिक हिसाबले गरिएको भनिने मोदीको नेपाल भ्रमणको सफलता उनका लागि उल्टो साबित भएको देखियो ।

अस्थिर मानसिकतामा हामी 
भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले ‘जनकपुर सुगौली सन्धिका कारण २ सय वर्षका लागि नेपाललाई दिइएको र अब नरेन्द्र मोदीले फिर्ता लिएर मिथिला राज्य गठन गर्नुपर्छ’ भनी ट्वीट गरे भनेर एकताका नेपालमा बजार तात्यो । आखिर को थिए कीर्ति आजाद ? के उनी भारतीय सरकारका आधिकारिक प्रवक्ता थिए ?

भारतीय सरकारका मन्त्री थिए ? भारत सरकारका कार्यकारी व्यक्ति थिए ? २०५६ सालतिर भारतीय सिने कलाकार ऋतिक रोशनले एउटा अन्तर्वार्तामा आफूलाई नेपाल र नेपाली मन पर्दैन भनेझैँ भारतीय एउटा सांसदले सामाजिक सञ्जालमा लेखे भन्दैमा उनलाई चाहिनेभन्दा बढी महत्व हामीले ऊ बेला दियौं । ‘चोरले खुट्टो काट भन्दा खु्ट्टो उचाले’ जस्तो ग¥यौं । यो पनि आवश्यक थिएन । बढी भो । कतै हाम्रो अस्थिर मानसिकता त यसमा पोखिएको छैन ? सोच्नै पर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्