पाकिस्तानमा बीस हजार मतदान केन्द्र सम्वेदनशील



रावलपिण्डी ।
पाकिस्तानको निर्वाचन आयोगले यहाँका २० हजारभन्दा बढी मतदान केन्द्रलाई सम्वेदनशील घोषणा गरेको छ ।

आसन्न आमनिर्वाचनका लागि तोकिएका मतदान केन्द्रमध्ये २० हजार ७८९ मतदान केन्द्रलाई सम्वेदनशील मतदान केन्द्र भनी घोषणा गरिएको हो । आयोगले देशभरमा ८५ हजार ३०७ ओटा मतदान केन्द्र तोकिएको जानकारी दिएको छ ।

यही जुलाई २५ मा आमनिर्वाचन हुने तय भएको पाकिस्तानमा सो निर्वाचनमार्फत देशका सबै चार प्रदेश र संघीय राजधानी इस्लामावादबाट जनप्रतिनिधि चयन हुनेछन् ।

ती मतदान केन्द्रहरू देशको उत्तरपश्चिमी खैबर पाख्तुङ्ख्वा प्रदेशमा सवैभन्दा धेरै रहेका छन् । सो प्रदेशमा सात हजार ३८६ ओटा मतदान केन्द्र सम्वेदनशील रहेको अधिकारीले बताएका छन् ।

त्यसैगरी दक्षिणी सिन्ध प्रान्तमा पाँच हजार ७७६ केन्द्रलाई सम्वेदनशील घोषणा गरिएको छ । विद्रोही समूह, राष्ट्रवादी र लडाकू समुहबाट विभिन्न प्रकारका आक्रमण हुनसक्ने खतरा आँकलन गरेर सम्वेदनशील मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

त्यसैगरी देशको पञ्जाव प्रदेशमा यस्ता मतदान केन्द्रको सङ्ख्या पाँच हजार ६८६ रहेको छ भने दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एक हजार ७६८ ओटा केन्द्र रहेका छन् ।

ती केन्द्रमा अन्य जिल्लाको तुलनामा सुरक्षा व्यवस्थालाई कडा पारिने जानकारी पाकिस्तान सरकारले दिएको छ । ती क्षेत्रमा बढी सुरक्षा कायम गर्न निर्वाचन आयोगले पनि माग गरेको हो ।

निर्वाचन लक्षित हिंसा कायमै

उता आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचारप्रसार अभियान जारी छ । यस अभियानसँगै देशमा निर्वाचनजन्य हिंसा भड्किने त्रास पनि मेटिएको छैन ।

यहाँ निर्वाचनको प्रचार ¥याली र सभालाई लक्ष्य गरेर हिंसात्मक आक्रमण भएका छन् । ती हिंसामा परी कैयौँ नागरिकको ज्यान गएको समाचार प्राप्त भएको छ ।

अभियान शुरु भएका एकाध दिनमा भएका हमलामा १५० जनाभन्दा बढीको ज्यान गएको छ । ती हमलामा परी अरु सयौँ जना घाइते भएका छन् ।

पाकिस्तानको आागमी निर्वाचनमा सुरक्षा खतरा रहेको चर्चा पनि जारी नै छन् । अर्कातर्फ पाकिस्तानी सेनाका प्रवक्ताले पनि आगामी निर्वाचनमा सुरक्षा खतरा रहेको बताउनुभएको थियो ।

निर्वाचनको अभियानको पहिलो दिनबाट नै शक्तिशाली हमला भएको अधिकारीले बताएका छन् । उनीहरुले निर्वाचन अभियानलाई सुरक्षित बनाउने उपायका बारेमा सरकारसँग आग्रह गरिरहेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्