तीनदिनदेखि पुरिएको बस अझै निकालिएन



रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन । दाङको घोराहीबाट शहीदमार्ग हुँदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको सो बस तीन दिन अघि सो स्थानमा पुरिएको थियो ।

पहिरो झर्ने क्रम अझै नरोकिएकाले बस पुरिएको स्थानमा एस्काभेटर जान नमानेका कारण बस निकाल्न नसकिएको प्रहरीले बताएको छ । बस पुरिएको स्थानमाथिबाट ठूलो ढिस्को खस्ने सम्भावना रहेकाले एस्काभेटर बस पुरिएको स्थानमा जान मानिरहेका छैनन्, जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले भन्नुभयो । मौसममा सुधार आए वा पहिरो झर्न रोकिने बित्तिकै बस निकालेर अवरुद्ध सडक खुलाउने काम गर्छौं फुयाँलले भन्नुभयो ।

बसमा रहेका यात्रु तथा सामानमा भने कुनै क्षति नभएको बताइएको छ । पहिरो आउनु पूर्व नै यात्रु र सामान निकालिएका कारण भौतिक तथा मानवीय क्षति भएन, प्रहरी नायब उपरीक्षक फुयाँलले भन्नुभयो । पहिरो झर्ने क्रम अझै रोकिएको छैन भने पहिरो बगेर नजिकै रहेको सविता पुनको गोठमा समेत क्षति पुगेको छ, प्रहरी नायब उपरीक्षक फुयाँलले भन्नुभयो ।

सोही पहिरोका कारण सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम लिवाङ, दाङ तथा काठमाडौँबाट उत्तरी रोल्पाको थवाङ, मिरुल, कुरेली, इरिवाङ र रुकुमको चुनवाङतर्फ चल्ने कुनै पनि सवारीसाधन चल्न नसक्दा हजारौँ यात्रु विचल्ली परेका छन् । साउने संक्रान्ति मान्न हिँडेका धेरै यात्रु विचल्ली परेको बताइएको छ ।

केही दिनयता परेको अविरल वर्षात्का कारण जिल्लाका दर्जनौँ भित्री सडकसमेत पहिरो खसेर अवरुद्ध भएका छन् । सदरमुकाम लिवाङबाट ह्वामा, धवाङ, जंकोट, कोर्चवाङ, जेद्वाङतर्फ चल्ने सडक अवरुद्ध भएको जलजला यातायात प्रालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिनुभयो ।

पूर्वी रोल्पाका विभिन्न स्थानमा चल्ने सवारीसाधनसमेत अवरुद्ध भएको बताइएको छ । सुलिचौरबाट गाम, फगाम तथा थवाङ जाने सडकसमेत अवरुद्ध भएका कारण यात्रुलाई गन्तव्यमा पुर्‍याउन समस्या भइरहेको जलजला यातायात व्यवसायी समिति रोल्पाका प्रशासन इञ्चार्ज यज्ञश्वर आचार्यले जानकारी दिनुभयो ।

व्यवस्थित इञ्जिनियरिङ डिजाइन बिना उपभोक्ता समितिले आफूखुशी बनाएका सडकका कारण सामान्य वर्षात् हुँदा पनि बाटो अवरुद्ध हुने गरेको जिल्लावासीले गुनासो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्