सोनामलाई साथ



राणा शासनको जग बसाल्ने तत्कालीन जंगबहादुरको मृत्युसम्बन्धी तामाङ समुदायमा प्रचलित मिथमा आधारित नाटक सोनाम ग्याल्मोलाई विभिन्न व्यक्तित्वको साथ मिलेको छ। राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असार ११ गतेदेखि २८ सम्म मञ्चन भएको नाटकले तामाङ संस्कृति र इतिहासको भिन्न पाटो बाहिर ल्याएको भन्दै युवा संघका केन्द्रीय कोषाध्यक्ष अमित लामा र पूर्वसभासद तीर्थ लामाले जनही २० हजार रुपियाँ सहयोग गरे। त्यस्तै प्राज्ञ निमा ग्याम्जो लामाले १५ हजार, यति फाउन्डेसन यूकेका पूर्वअध्यक्ष निमा लामा योञ्जनले १० हजार, व्यवसायीद्वय श्याम लामा र मीनबहादुर लामाले क्रमशः १० र ५ हजार रुपियाँ सहयोग गरे।

सेलो थिएटरको प्रस्तुति रहेको नाटक पत्रकार फूलमान बलले लखेका हुन् भने सोनाम मोक्तानले निर्देशन गरेका थिए। ‘नाटकले इतिहासमा लुकिबसेको रहस्यमय तथ्यलाई उत्खनन गर्ने कोसिस गरेको रहेछ’, सहयोग हस्तान्तरण गर्दै अमितले भने– ‘कलाकारको मेहनतलाई ऊर्जा थप्न खोजेको हुँ।’ बेलायतमा बस्दै आएका निमा लामा योञ्जनले पनि नेपाली रंगमञ्चमा अग्र्यानिक विषयवस्तुसहितको नाटकले तामाङ विवाह परम्पराको सांस्कृतिक पक्षलाई मन छुने तरिकाले उठाएको दाबी गरे। यही नाटकबाट तामाङ फिल्म अभिनेतृ चादनी मोक्तान, गायकद्वय फूलकुमार बमजन र सुसन लामा रंगमञ्चमा प्रवेश गरेका छन्।

सोनाममा मुख्य पात्रको भूमिकामा निर्देशक स्वयंले खेलेका थिए भने ग्याल्मोको भूमिकामा शान्ति वाइबा थिइन्। यसबाहेक निकिता वाइबा, निशा पाख्रिन, मातृका घिमिरे, मनोज तामाङ, सन्तोष तामाङ (बोन्बो), सञ्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ, साजन लामाले अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्