‘ओली सरकार कमाउ धन्दामा लाग्यो’



काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार कमाउ धन्दामा लागेको आरोप लगाएका छन् ।

‘सरकारले व्यापारीलाई पोस्ने खालको चिकित्सा शिक्षा विधेयक ल्याउने गरी चलखेल गर्‍यो’, मकवानपुरको हेटौंडामा बिहीबार आयोजित कार्यक्रममा नेता पौडेलले भने, ‘कम्युनिष्ट नेताहरू सरकारमा बसेर कम्युनिजम होइन, कमाउधन्दा सञ्चालन गर्न लागि परे ।’

सरकार कमाउ धन्दामा लागेको भन्ने पुष्टि संसदमा दर्ता भएको चिकित्सा शिक्षा अध्यादेशले देखाएको उनले दाबी गरे।

‘गुणस्तरीय शिक्षाको पक्षमा कांग्रेस छ’, उनले भने, ‘कम्युनिष्टहरू व्यापारी पोस्न लागे। क्वान्टिटी होइन क्वालिटी शिक्षा चाहिएको छ ।’

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको उनले बताए । राज्य सञ्चालनको नाममा सरकारले कमाउ धन्दा थालेको नेता पौडेलको भनाइ छ । गाउँ, टोल पुगेर कांग्रेसको संगठन सुदृढीकरण गर्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्