शक्तिले अन्तर्राष्ट्रिय करियर समाप्त गर्दै



नेपाल समाचारपत्र
काठमाडौं
लामो समयदेखि नेपाली क्रिकेटलाई योगदान दिँदै आएका नेपालका उत्कृष्ट बलर शक्ति गौचनले अन्तर्राष्ट्रिय करियर समाप्त गर्ने घोषणा गरेका छन् ।

बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको लन्डन यात्राको विदाई कार्यक्रममा शक्तिले सो यात्रा अन्तिम हुने बताएका हुन् । इंग्ल्यान्ड र नेदरल्यान्ड्सको भ्रमणमा नेपाली टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय वानडे खेल्न लाएको छ । जसको हिस्सा स्पिनर शक्ति पनि हुनेछन् । नेपाली टोली आज बेहान लन्डनतिर जाने कार्यक्रम रहेको छ ।

यो अन्तर्राष्ट्रिय भ्रमण अन्तिम हुने तर घरेलु मैदानमा एक प्रतियोगितामा खेलेर सन्यास लिने चाहना शक्तिले बताएका छन् । घरेलु मैदानमा घरेलु दर्शकको साथमा उनको विदाई सानदार होस भन्ने पनि उनको चाहना छ ।

उनले बताए—यो घोषणाले म खुशी र दुखीसँगै भएको छु । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेर विदा हुँदैछु । यो समय सहि पनि हो । जबकी यो भ्रमण मेरो करियरको अन्तिम हुनेछ । तर नेपाली समर्थककै अघि खेलेर सन्यास लिनु कुनैपनि खेलाडीका लागि त्यो क्षण स्मरणीय हुनेमा मेरो विश्वास छ । मैले सबैको सल्लाहमै सन्यासको घोषणा गरेको हुँ ’

करिब डेढ दशक क्रिकेटमा लागेर कयौं उतारचढाव देखेका शक्तिले अन्तर्राष्ट्रिय वानडे खेल्ने चाहना पुरा हुन लागेकोमा खुशी व्यक्त समेत गरे । उनले भने—मलाई नेपालको जर्सी लगाएर वानडे खेल्ने रहर थियो । जुन पुरा हुँदैछ । यसमा म ज्यादै खुशी छु ।

३५ वर्षीय शक्तिले सन् २००२ मा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । उनले पहिलो खेल एसीसी ट्रफीमा ओमानविरुद्ध खेलेका थिए । उनले लिस्ट ए मा २३ खेल खेलेर १८ विकेट लिएका छन् । टी २० मा ३० खेलबाट ३१ विकेट हात पारेका शक्तिले बैसाखमा भएको धनगढी प्रिमियर लिगमा रुपन्देही टोलीका कप्तान भएका थिए ।


राष्ट्रिय टोलीमा डेब्यु गर्नुअघि गौचनले यू–१७ टोलीको कप्तानी र यू–१९ टोलीबाट खेलेका थिए । गौचन नेपाली टिमबाट १ हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । उनी अन्तर्रा्ष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो र अन्तर्रा्ष्ट्रिय खेलमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी हुन् ।

नेपालको खेल तालिका
अभ्यास खेलहरु
जुलाई २१ ः नेपाल विरुद्ध हग (५० ओभर)
जुलाई २३ः नेपाल विरुद्ध सेन्ट क्रस (टी२०)
जुलाई २५ः नेपाल विरुद्ध इस्ट लन्डन इलेभेन (५० ओभर)
जुलाई २६ः नेपाल विरुद्ध इस्ट लन्डन शार्कस्. (टी २०)

एमसीसी त्रिकोणीय सिरिज
जुलाई २९ः नेपाल, एमसीसी र नेदरल्यान्डस् लर्डस मैदानमा खेल्ने

पहिलो अन्तर्राष्ट्रिय वानडेः अगस्ट १ मा नेपाल विरुद्ध नेदरल्यान्डस् (एमस्टीलभीन मैदान)
दोस्रो अन्तर्राष्ट्रिय वानडेः अगस्ट ३ मा नेपाल विरुद्ध नेदरल्यान्डस्

 

प्रतिक्रिया दिनुहोस्