अञ्चल अस्पतालको बेथिति बन्द गर



धौलागिरी अञ्चल अस्पतालमा अहिले व्यापक बेथिति मौलाएको छ । अञ्चलकै स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा रहेको धौलागिरी अञ्चल अस्पताल बेलाबेलामा विवादित पनि हुने गरेको छ ।

कहिले स्वास्थ्यकर्मीको अभावमा स–सानो स्वास्थ्य समस्या लिएर आउने बिरामीसमेत पोखरा, काठमाडौं पठाउने कामले त कहिले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएका कारणले विवादमा तानिने गरेको छ ।

रिफर सेन्टर भयो भनेर आलोचना हुने र अस्पतालप्रति विश्वास गर्नेहरुको संख्या घट्दै गैरहेका बेला गत आइतबार बागलुङ नगरपालिका–५ की लक्ष्मी सापकोटाको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको समाचार न्यूज लफ नेपालमा आयो । अहिलेभन्दा १० महिनापहिला पनि अस्पतालमा अप्रेसन गराएर प्रसूति सेवा लिएकी जिल्लाको जैमिनी नगरपालिकाकी एक महिलाको पाठेघरमा अस्पतालको लापरबाहीका कारण प्याड छोडिएको थियो ।

अस्पताल प्रशासनको निगरानी निकै कमजोर र त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीको चरम लापरबाहीका कारण बेलाबेलामा सर्वसाधारणले दुःख खेप्दै आइरहेका छन् । अस्पतालमा जे–जस्तो खालका समस्या रहेको भए पनि त्यो आमसर्वसाधारणले जानकारी पाउने गरी बाहिर आउनु अस्पतालको लागि मात्रै हैन आम सर्वसाधारणकै हितभन्दा विपरीतको कुरा हो । मानिस बिरामी हुँदा उपचार गर्न जाने विश्वासको धरोहर अस्पताल हो ।

एकजना बिरामीले आफ्नो घरदेखि अस्पतालको प्रवेशद्वारसम्म जाँदा भोगेको पीडा अस्पतालको मूलद्वार प्रवेशपछि आधा भुलेको हुन्छ । किनभने उसले त्यहाँबाट आफूले उपचार पाउने आशा सँगालेको हुन्छ । भरोसाकै कारण आफ्नो बिमारको पीडालाई आधा कम गर्ने मानिसले अस्पतालमा रहेका यस्ता खालका बेथिति र लापरबाहीको सामना गर्नुपर्ने हो भने उनीहरुले अस्पताललाई विश्वास किन र कसरी गर्ने ? धौलागिरीका तीन जिल्लाका बिरामीले सधैँ चाप रहने अस्पतालमा दरबदीअनुसारका कर्मचारी नभएकै कारण काम गर्न समस्या हुनु स्वाभाविक होला तर उपलब्ध रहेका स्वास्थ्यकर्मीले आफ्नो धर्म नै भुलेर लापरबाही गर्नु कहाँसम्मको न्यायिक कुरा हो ?

अस्पताल विश्वासको धरोहर बन्नुपर्छ । प्राण पाउने आशाले अस्पताल पुगेका नागरिकले अस्पतालकै कारण प्राण त्याग्नुपर्ने परिस्थितिको अन्त्य हुनु जरुरी छ । आज एकजना लक्ष्मीले अस्पतालका कारण ज्यान गुमाइन् भन्ने कुरा ठूलो होइन, भोलि हजारौं लक्ष्मीहरुको ज्यान जोखिममा रहनु ठूलो कुरा हो । धौलागिरी अञ्चल अस्पतालमा रहेको बेथिति र चरम लापरबाहीको अन्त्यका लागि स्थानीय प्रशासन, सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।

लापरबाही भयो भनेर बेलाबेलामा आवाज उठाउँदा दरबन्दीअनुसारका कर्मचारी नभएको र थोरै कर्मचारीले धेरै काम गर्नुपर्दा कमी–कमजोरी भएको भन्ने गरेको अस्पताल प्रशासनको मुखमा बुजो लगाउनका लागि नेपाल सरकारको सम्बन्धित विभागले उक्त अस्पतालको दरबन्दीको समस्या समाधान गर्न जरुरी छ । मान्छेको ज्यान जाने गरी भएका गल्तीहरुमा गल्ती भयो माफ गर्नुस् भनेर उन्मुक्ति माग्ने र दिने परम्पराको समेत अन्त्य हुनु जरुरी छ । चरणबद्ध लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कानुनअनुसारको कार्वाही गरियोस् ।
– सुरक्षा कार्की, पर्वत ।

प्रतिक्रिया दिनुहोस्