आज सम्पूूर्ण स्वास्थ्य संस्था बन्द



भगवती तिमल्सिना, काठमाडौँ
नेपाल चिकित्सक संघले प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज बिहीबार देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । संघका अनुसार आज सरकारी र निजी शिक्षण अस्पतालसहित नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरी दिउसो १२ बजे माइतिघर मण्डलामा भेला गरिने छ ।

यति गर्दा पनि सरकार संवेदनशील नभए आकस्मिकबाहेका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गरिने संघको दाबी छ ।

असार १६ गतेदेखि जुम्लामा अनसनरत प्रा.डा.के.सी.को जीवन रक्षाका निम्ति प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्य मन्त्रीसहित दलका शीर्षस्थ नेतासँग अपिल गर्दा समेत सरकारले नटेरेको संघको आरोप छ । संघले सरकारद्वारा गठित वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा.के.सी.लाई जबर्जस्ती काठमाडौं ल्याउने प्रपञ्चमात्र रचिएको आशंका छ ।

संविधानप्रदत्त नागरिकको स्वास्थ्य र शिक्षासम्बन्धी मौलिक हकका पक्षमा उठेको नागरिक आवाजलाई दबाउन खोज्ने र राज्यको तर्फबाट अफवाह फैलाउने कार्यप्रति संघले भत्र्सना र निन्दा गरेको छ ।

संघले प्रेस विज्ञप्तीमार्फत् माथेमा आयोगको प्रतिवेदनअनुसारकै विधेयक ल्याउनुपर्ने माग राखी १९ दिनदेखि अनसनरत डा. के.सी. ले जीवन नै त्याग्नुपर्ने परिस्थिति सिर्जना भएमा संघ जस्तोसुकै परिस्थितिको सामना गर्न पछि नह्टने चेतावनी दिएको छ ।
हालको विवादास्पद विधेयक फिर्ता गरी पुरानै अध्यादेशअनुसारको विधेयक ल्याई डा. के.सी.को जीवन बचाउन संघले माग गरेको छ ।

नाम मात्रको वार्ता औचित्यहीन: केसी
डा.केसीले बुधबार बिज्ञप्ती जारी गरि सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको र आफ्ना एजेण्डाहरुप्रति उदासीन रहेको आरोप लगाउनुभएको छ ।
उहाँले वार्तालाई तार्किक निश्कर्षमा पु¥र्याउन तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली बनाउनुपर्छ भन्नुभएको छ ।

आवश्यक म्यान्डेट नै नदिई पठाइएको कर्मचारीहरु मात्र सम्मिलित टोलीसँग अर्को चरणको वार्ता गर्नुको कुनै औचित्य नभएको डा.केसीको दावी छ ।

 

डा.केसीको मुटु र स्वासप्रश्वासमा समस्या, नशामा संक्रमण
कर्णालीमा उपचार असम्भव–चिकित्सकहरू

प्रा.डा. गोविन्द केसीको उपचारमा संलग्न चिकित्सकहरुले उहाँको मुटु, श्वासप्रश्वासमा समस्या देखिएको बताएका छन् । उनीहरूले उहाँको मुटुमा २४ घण्टामा दुईपटक जटिल समस्या देखिएको जानकारी दिएका हुन् । डा.पुजन रोकाया, डा.सिद्धार्थ थामी र डा.धिरज गुरुङले बुधबार संयुक्त विज्ञप्ति जारी गरी यस्तो जानकारी गराउनुभएको हो ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुासर डा.केसीको मुटुमा बुधबर राति साँढे बाह्र बजे र बिहान चार बजे गरि दुइपटकमा नौ वटासम्म एक्टोपिक बिट्सहरु देखिएको थियो । पहिलेको तुलनामा यस्ता किसिमका मुटुका गढबढिहरु धेरै पटक र धेरैको संख्यामा देखा पर्न थालेका छन् ।

पहिलेको तुलनामा श्वासप्रश्वासमा झन् कठिनाइ देखिएकाले चौबिसै घण्टा अक्सिजनको सहायतामा राखिएको र छाती दुख्ने , वाकवाकी, रिंगटा लाग्ने, मांसपेशी बाउँडिने समस्यामा कुनै सुधार हुन नसकेको चिकित्सकहरूले बताएका छन् ।

यस्तै परिस्थिति रहेमा डा.केसीलाई जुन कुनैबेला सिसियुमा राख्नुपर्ने र यस्तो सुविधा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नभएको चिकित्सकहरूद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिअनुसार यस्तै स्लाइन पानी दिन खोलिएको हातको नशामा संक्रमण देखिएको, दुवै हातका नशा संक्रमित भएका, निरन्तर घटिरहेको सेतो रक्तकोशिका र बढ्दो संक्रमणका कारण सेप्सिसको जोखिम झन् बढेको, रगतमा पोटासियम, म्यागनेजियम र क्यालसियमको मात्रा निकै नै कम भएको छ ।

इलेक्ट्रोलाइट्स घट्दा आउन सक्ने सम्पुर्ण जोखिमबारे डा.केसीलाई बताइए पनि उहाँले ती तत्वहरु लिन अस्विकार गर्नुभएको र नशाबाट निरन्तर स्लाइन दिइदाँ पनि डिहाइड्रेसन (जलवियोजन) का लक्षणहरु देखिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्