पहिरोले घर पुर्दा ३ को मृत्यु



गोरखा, (नेस)
जिल्लाको शहीद लखन गाउँपालिका–६ घैरुङस्थित अँधेरीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान साढे ६ बजे घर पछाडिको कान्ला खस्दा सुतिरहेका आठमहिने बालकसहित तीन जनाको ज्यान गएको हो । पहिरोमा पुरिएर आठमहिने युनिक कुँवर, युनिककी आमा २० वर्षीय सरु कुँवर र १० वर्षीय प्रमिना कुँवरको ज्यान गएको मृतक परिवारका नवराज कुँवरले जानकारी दिए ।

‘म बिहान उठेर घाँस पराल गर्न लागेँ’, कुँवरले भने– ‘म भैँसीकै भकारोमा थिएँ एक्कासि डुम्ब गरेको आवाज आयो । के भएछ भनेर हेर्दा त घर पछाडिको काङ्लो झरेर भान्जी छोरीहरु सुतेको कोठा पुरेको रहेछ ।’ ‘उनीहरु निदाइरहेका थिए । ढोकामा चुकुल लगाएका रहेछन् बन्चरोले हानेर ढोका फुटाएर हेर्दा भान्जीको दुईवटा खुुट्टा मात्रै देखिएको थियो’ –कुँवरले बताए । तीनै जना पुरिएको थाहा पाएका नवराजले भाइ र गाउँलेलाई खबर गरेर उनीहरुलाई निकाले पनि जीवित निकाल्न सकेनन् ।

घर पुरेको करिब पाँच घण्टापछि नै त्यहाँ सुरक्षाकर्मी, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी पुगेका थिए । ‘यहाँ आउनेबाटो जनततै पहिरोले बन्द छ’, गाउँपालिका प्रमुख रमेश थापा मगरले भन्नुभयो– ‘बल्लतल्ल खोला तरेर, पहिरो छलेर वैकल्पिक बाटो प्रयोग गरेर यहाँ सुरक्षाकर्मीको टोली आइपुग्यो । उहाँहरुले यहाँ उद्धारका लागि सहयोग गर्नुभयो ।’ सोही ठाउँका तीनघरे, अँधेरी र पुडासैनी गाउँका गरेर ५० घर पहिरोको उच्च जोखिममा रहेका छन् । त्यहाँका स्थानीयलाई नजिकैको स्कुल, खुला चौरमा बस्नका लागि त्रिपालहरु टाँगिएको मगरले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्