देउवा–पौडेल विवाद मिल्यो, आज विधान मस्यौदा समिति बन्ने



रामकृष्ण चापागाईं, काठमाडौं
नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको आन्तरिक विवाद मिलेको छ । सरकारविरुद्धको गतिविधिमा एकमत भए पनि यी दुई गुटबीच पार्टीको आन्तरिक गतिविधिमा विवाद थियो । देउवा र पौडेल गुटबीचको आन्तरिक विवादकै कारण विधान मस्यौदा समिति बन्न सकेको थिएन ।

मस्यौदा समितिमा बस्ने नेताको नाम पौडेल पक्षले आज उपलब्ध गराउने भएसँगै आजै विधान मस्यौदा समिति गठन हुने सम्भावना रहेको छ । विधान संशोधन तथा परिमार्जनका लागि आगामी भदौमा महासमिति बैठक आयोजना गरिने भनिए पनि विधान मस्यौदा समिति गठन हुन सकेको थिएन । मस्यौदा समिति गठन गर्ने कुरामा पौडेल पक्षसँग सहमति भएपछि विभिन्न केन्द्रीय विभाग गठन गर्ने विषयमा पनि सहमति जुट्ने बताइएको छ । कांग्रेसभित्र सभापति देउवा, वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला गुट छ । साथै प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि रहेको छ ।

पार्टीको आन्तरिक विषयका साथै सरकारविरुद्ध कांग्रेसले चालेको आन्दोलनको विषयमा छलफल गर्न सभपाति देउवाले बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गर्नुभएको थियो । देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा दुवै पक्षका शीर्ष नेताको पनि सहभागिता रहेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार सरकारविरुद्ध सदन र सडकमा प्रभावकारी भूमिका निभाउने विषयमा दुवै नेता पहिले नै सहमत भए पनि विधान मस्यौदा समिति गठन गर्नेलगायत आन्तरिक विषयमा मत भिन्नता थियो ।

वुधबारको छलफलपछि वरिष्ठ नेता पौडेलले विधान मस्यौदा समितिको लागि आज बिहीबार नाम उपलब्ध गराउने सहमति भएको भन्दै प्रवक्ता शर्माले आजै विधान मस्यौदा समिति गठन हुने सम्भावना रहेको बताउनुभएको छ ।

डा. गोविन्द केसीको माग पूरा गर्नुपर्नेलगायत अन्य आन्दोलनका विषयमा दुई नेताबीच विमति नरहेको भन्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि पार्टीको आन्तरिक विषयमा विधान मस्यौदा समिति गठनका लागि पौडेल पक्षले आज नाम उपलब्ध गराउने सहमति भएको जानकारी दिनुभएको छ । अब केन्द्रीय विभागहरु पनि छिटै गठन हुने भन्दै उहाँले पार्टी प्रभावकारी र सशक्त ढंगले अघि बढ्ने बताउनुभएको छ ।

विधान मस्यौदा समिति ९ देखि ११ जनाको बन्ने भन्दै प्रवक्ता शर्माले पौडेल पक्षको कति जना नेता समावेश गरिने भन्ने बारेमा आफूलाई थाहा नभएको बताउनुभएको छ । कांग्रेस शीर्ष नेताहरुको बैठकले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विवादलाई पनि मिलाउन सहमति जनाएका छन् । कांग्रेसको प्रभावशाली भ्रातृ संगठनभित्र पनि गुटगत विवाद रहेको छ ।

कांग्रेसका शीर्ष नेताहरुले आज बिहीबारदेखि शुरु हुने सडक आन्दोलनमा पार्टीका सबै कार्यकर्तालाई सहभागिता जनाउन निर्देशन दिने पनि बताएका छन् । कांग्रेसले डा. गोविन्द केसीको माग सम्बोधन नभए संसद् चल्न नदिने यसअघिको निर्णयलाई निरन्तरता दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्