औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्छः स्वास्थ्यमन्त्री यादव



काठमाडौँ ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताउनुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बारे जानकारी लिँदै उहाँले एउटै रोगका कम्पनी पच्छिे फरकफरक गुणस्तर भएका धेरै थरी औषधिले जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको हुँदा औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्ने बताउनुभएको हो ।

उपप्रधानमन्त्री यादवले खाद्यपदार्थको गुाण्स्तर, त्यसले पारिरहेको असरबारे पनि अनुसन्धान गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “हालसम्म औषधिको गुणस्तरबारे प्रभावकारी अनुसन्धान भएको छैन, बाहिरबाट पनि गुणस्तर कम भएका औषधि आउँछन्, त्यसविषयमा परिषद्ले प्रभावकारी अनुसन्धान गर्नुपर्छ ।”

सातै प्रदेशमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एकाइ स्थापना गरी अनुसन्धानको दायरालाई फराकिलो र प्रभावकारी बनाउन पनि परिषद्लाई निर्देशन दिदैं मन्त्री यादवले यसका लागि मन्त्रालयले सहयोग गर्नेछ भन्नुभयो ।

नेपालको तराईमा विशेषगरी थारु समुदायमा मात्र देखिएको दुर्लभ रोग सिकलसेल एनिमियाबारे पनि अहिले भइरहेको अनुसन्धानलाई अझ प्रभावकारी बनाउन निर्देशन दिँदै उहाँले त्यस रोगको पहिचान, उपचार र काठमाडौँको प्रदुषणले पारेको असरबारे पनि अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा अन्जनीकुमार झाले परिषद्ले हाल गरिरहेका कामबारे उपप्रधानमन्त्रीलाई जानकारी गराउनुभयो ।

हाल परिषद्ले क्यान्सर रोगीको तथ्यांक संकलन, सिकलसेल एनिमियाबारे अनुसन्धान, विश्व स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसमा नसर्ने रोग मधुमेह, उच्चरक्तचाप, वायु प्रदूषणलगायतका अनुसन्धानात्मक काम गरिरहेको जानकारी दिँदै उहाँले सरकारले अनुसन्धानका लागि पर्याप्त स्रोतसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्