‘गरिखानेको नाममा’ पुस्तक, श्रमिक र समृद्धिका लागि उपयोगी



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले लेख्नुभएको ‘गरिखानेको नाममा’ शीर्षक पुस्तकले मुलुकलाई समृद्धितर्फ लैजान सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

लेखन कुञ्ज९घोष्ट राइटिङ नेपाल०ले आज यहाँ आयोजना गरेको पुस्तकमाथिको प्राज्ञिक छलफलमा सहभागी वक्ताहरुले पुस्तकमा उल्लेख गरिएका विषयलाई व्यवहारमा उतार्ने हो भने समृद्ध नेपाल र सुखी नेपाली भन्ने सरकारको नारालाई सफल बनाउन सकिन्छ भन्नुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै डा सुनिलबालु श्रेष्ठले श्रमिकलाई नै कम्पनीको शेयर दिएर मालिक बनाउने जस्ता पुस्तकमा उल्लेख गरिएका कुराले मुलुकको विकासका लागि सहयोगी भूमिका निर्वाह गर्ने बताउँदै मुलुकमा देखिएका असमानता र विभेद हटाउन पनि यो पुस्तक फलदायी हुने धारणा व्यक्त गर्नुभयो ।

डा पदम खतिवडाले लेखक रिमालले श्रमिक आन्दोलनमा आफू देखेभोगेका कुरालाई सिलसिलाबद्ध रुपमा प्रस्तुत गरेको तथा श्रमिक र मालिकबीचको सम्बन्ध कसरी स्थापित गराउने भन्ने कुरालाई उतारेको बताउनुभयो ।

डा पदमराज कलौनीले अशिक्षा र गरिबीलाई श्रमिकसँग जोडेर पछाडि पर्नुका ती कारण अन्त्य गरी मुलुकको विकास गर्ने कुरा पुस्तकमा उल्लेख गरिएको बताउँदै श्रमिकका अधिकार स्थापित गराउन लैगिक र जातीय विषयलाई समेत पुस्तकमा समेटिएको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “गरिखाने वर्गलाई उत्पादन वृद्धि गराउन र नगरी खाने वर्गलाई श्रमसँग जोड्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।”

प्रा डा तारानिधि भट्टराईले श्रमिक, रोजगारदाता र सरकारबीचको सम्बन्ध सुधार गर्नलाई पुस्तक उपयोगी हुने बताउनुभयो ।

लेखक रिमालले ट्रेड युनियन आन्दोलनका क्रममा आफूले देखेभोगेका कुरालाई पुस्तकका रुपमा उतारेको जानकारी दिनुभयो ।

नेपाल ट्रेड युनियन महासङ्घ९जिफन्ट०का पूर्वअध्यक्ष तथा पूर्व सांसद रिमालले श्रमजीवीको हकअधिकारका बारेमा लेखिएको सो पुस्तक नेपालको श्रमिक आन्दोलनको चित्रण पनि हो भन्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्