डा.केसीको स्वास्थ्य समस्या गम्भिर, कर्णालीमा उपचार असम्भव–डा.गुरुङ



भगवती तिमल्सिना, काठमाडौ ।
प्रा.डा.गोविन्द केसी सत्याग्रहमा बसेको १९ औँ दिनको २४ घण्टामा दुईपटक मुटुमा जटिल समस्या देखा परेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

डा.केसीको मुटुमा गम्भिर समस्याहरु देखिएको छ । गएराति साँढे बाह्र बजे र बिहानीको चार बजे गरि दुइपटकमा नौ वटासम्म एक्टोपिक बिट्सहरु देखिएको थियो । पहिलेको तुलनामा यस्ता किसिमका मुटुका गढबढिहरु धेरै पटक र धेरैको संख्यामा देखा पर्न थालेका छन् । यस्तै परिस्थिति रहिरहे डा.केसीलाई जुनकुनै बेला पनि सिसियुमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ र यो सुविधा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध नभएको जानकारी पनि यसै विज्ञप्ति मार्फत गराउदछौँ ।

यसका अलावा स्लाइन पानी दिन खोलिएको दोस्रो हातको नसामा पनि संक्रमण देखिएको छ । यो सँगै डा.केसीका दुवै हातका नसा संक्रमित भएका छन् । निरन्तर घटिरहेको सेतो रक्तकोशिका र यस किसिमको बढ्दो संक्रमणका कारण अब झन सेप्सिसको जोखिम बढेको छ । रगतमा पोटासियम, म्यागनेजियम र क्यालसियमको मात्रा निकै नै कम भइसकेको छ ।

यसरी इलेक्ट्रोलाइट्स घट्दा आउन सक्ने सम्पुर्ण जोखिमका बारे डा.केसीलाइ बताइएको भएतापनी उहाँले ती तत्वहरु लिन अस्विकार गर्नु भएको छ । हिजोको तुलनामा श्वासप्रश्वासमा आज झन कठिनाइ देखिएको छ जसका कारण चौबिसै घण्टा अक्सिजनको सहायतामा राखिएको छ । छाती दुख्ने , वाकवाकी लाग्ने , रिंगटा लाग्ने, मांसपेशी बाउँडिने समस्यामा खास उल्लेख्य सुधार हुन सकेको छैन । निरन्तर नसाबाट स्लाइन पानी दिइनुको बाबजुद डिहाइड्रेसन (जलवियोजन)का लक्षणहरु देखिएको उपचारमा संलग्न डा.पुजन रोकाया, डा.सिद्धार्थ थामी र डा.धिरज गुरुङले संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्