विश्वको पहिलो महिला शंकराचार्य हेमानन्दलाई सम्मान



नेपाल समाचारपत्र, काठमाडौं । विश्वको पहिलो महिला शंकराचार्य हेमानन्द गिरीलाई बिहीबार काठमाडौंमा सम्मान गरिने भएको छ ।

नेपाल व्यापार संघ केन्द्रीय समितिले बिहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान तथा स्वागत गर्ने भएको हो । संघकी सचिव रुक्मिणी सेढाइले नेपालमा जन्मेकी चेली शंकराचार्य हुनु सबैको लागि गौरवको विषय भएको बताउनुभयो ।

गिरीले भारतमा बसेर नेपाल र नेपालीको लागि जुनसुकै क्षेत्रमा पनि योगदान गरेकाले सकारात्मक कामको कदर गर्दै सम्मान गर्न लागिएको सेढाइले बताउनुभयो । अग्रवाल भवन कमलपोखरीमा आयोजना गरिएको कार्यक्रममा मन्त्री, सांसद्का साथै धार्मिक तथा सामाजिक क्षेत्रमा आवद्ध अतिथिलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

वल्र्ड हिन्दु फेडेरेसनका अन्तर्राष्ट्रिय अध्यक्ष अजय सिंहले बिहीबार शंकराचार्यको प्रमाणपत्र प्रदान गर्नुहुने आयोजक संस्था नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो । कार्कीले शंकराचार्यको सम्मान पाउनुहुने गिरीले सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रमा पु¥याएको योगदान उल्लेखनीय भएको बताउनुभयो । उहाँलाई एक साताअघि शंकाराचार्यको उपाधि दिइएको थियो ।

२०३२ साल वैशाख ६ गते मोरङको पथरीमा गिरीको जन्म भएको थियो । गिरीले भारतमा मात्र नभएर नेपालमा पनि समाजसेवाका विभिन्न क्षेत्रमा राम्रो योगदान गर्नुभएको छ । ‘पद, पैसा र सम्मान एकछिनका लागि मात्र हुन्छ तर समाजका लागि केही गर्न सकियो भने सदाका लागि अमर भइन्छ भनेर यो अभियानमा लागेकी हुँ’ गिरीले भन्नुभयो ‘ समाजका लागि यो जिवन अर्पण गरेकी छु, दुःखी, पीडित, असहाय र अनाथको सेवा गर्नु नै मेरो कर्तव्य हो ।’

महन्त, मण्डलेश्वर, पीठाधीश, महामण्डलेश्वर हुँदै उहाँ शंकराचार्य बन्नुभएको हो । स्वामी रामदेबबाबाको योग शिविरमा १२ वर्षसम्म काम गरेर विश्वकै ६ जना महिलामध्ये प्रथम स्थान प्राप्त गर्न सफल गिरीले नेपालका विभिन्न ठाउँमा सडक, पानी, विद्यालय, बिजुली, संकटग्रस्त बस्ती, अनाथालय, वृद्धाश्रममा सामाजिक अभियान चलाउनुभएको छ ।
उहाँले मेडिकल क्याम्प र स्वास्थ्य शिबिर पनि संचालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्