पर्यटकीय संभावनाको खोजी



अमृत अर्याल, स्याङ्जा ।

अर्जुनचौपारी गाँउपालिकाले ८ सदस्यीय पर्यटन विकास समिति गठन गरेको छ । गाँउपालिकामा रहेका पर्यटकीय सम्भावनाहरुको खोजी गरी प्रवद्र्धन गर्ने उदेश्यका साथ पर्यटन समिति गठन गरेको हो ।

६ ओटा वडा रहेको गाँउपालिकामा पर्यटक समिति गठन पश्चात पर्यटन क्षेत्रमा निकै फड्को मार्ने विश्वास लिइएको छ । गाँउपालिकाको वोर्ड बैठकले साविक आरुचौर गाविसका पुर्व अध्यक्ष बद्रीप्रसाद पौडेलको अध्यक्षतामा एक सदस्य सचिव रहने गरी ८ सदस्यीय पर्यटक विकास समिति गठन गरिएको गाँउपालिकाका प्रवक्ता ख्यामनारायण खनालले जानकारी दिनुभयो ।

अर्जुनचौपारी आफैमा पर्यटकीय संभावना भएको गाँउपालिका हो । हरेक वडाका एक—एक जना प्रतिनिधि रहने गरी कोषाध्यक्ष सहित सदस्यहरु गठन गरिएको छ ।

कोषाध्यक्षमा गाँउपालिका वडा नं. ४ का वडा अध्यक्ष जितकुमारी चपाई, सदस्यहरुमा वडा नं. १ बाट वोधराज रेग्मी, २ बाट नरबहादुर गुरुङ्, ३ बाट प्रेमलाल लम्साल, ४ बाट मकन गुरुङ र ६ बाट घनश्याम खनाल रहेका छन् ।

गाँउले पर्यटन नेपाल सगँ समन्वय गरेर अर्जुनचौपारी गाँउपालिकालाई पर्यटकीय गाँउपालिकाको रुपमा विकसित गर्ने अभियानका साथ अगाडी बढेको पर्यटन विकास समितिका अध्यक्ष बद्रीप्रसाद पौडेलले बताउनुभयो ।

अर्जुनचौपारी गाँउपालिकाको गत जेष्ठ २ गते बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको थियो ।

समितिको प्रमुख संरक्षकमा गाँउपालिका प्रमुख दिर्घनारायण अर्याल, संरक्षकमा उपप्रमुख चिनमाया गुरुङ र सल्लाहकारमा प्रमुख प्रशासकिय अधिकृत रहने व्यवस्था रहेको छ ।

हरेक वडामा उपसमिति निर्माण गरी गाँउपालिका भित्र रहेका पर्यटकीय सम्भावनाको पहिचान र प्रवद्र्धनमा टेवा पुग्ने गरी अगाडी बढ्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्