मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक



रत्ननगर, चितवन,  चितवनको भरतपुर महानगरपालिकाले मुख्य सडक क्षेत्रमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भएको छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार साउन ५ गतेबाट लागू हुनेगरी उक्त सवारी साधन मुख्य सडक क्षेत्रमा सञ्चालनमा रोक लगाइएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

सडकमा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरण गर्न जरुरी रहेकाले ई–रिक्सा, अटो– रिक्सा र टेम्पुलाई मुख्य सडक क्षेत्रमा सञ्चालन रोक लगाइएको दाहालले बताउनुभयो ।

उहाँका अनुसार भरतपुर महानगरमा पर्ने पूर्व–पश्चिम राजमार्ग, बाइपास रोड र नारायणगढ–मुग्लिन सडकखण्डमा तीनपांग्रे सवारी सञ्चालन रोक लगाइएको हो । भित्री सडकबाट अन्यत्र जानका लागि भने वारपार गर्न तोकिएको स्थानबाट क्रसरोडसमेत तोकिएको महानगरपालिकाले जनाएको छ ।

यसअघि पार्किङ व्यवस्थापन र फुटपाथ व्यवस्थापनमा महानगरपालिका सफल भएको दाबी गर्दै प्रमुख दाहालले तत्कालका लागि केही समस्या भए पनि दीर्घकालका लागि यो निर्णय महत्वपूर्ण हुने बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले जिल्लामा यस्ता तीनपांग्रे सवारी करीब तीन हजारको हाराहारीमा रहेको जानकारी दिनुभयो ।

पछिल्लो समयमा साना सवारीबाट दुर्घटना बढेको भन्दै उहाँले तीनपांग्रे सवारी दुर्घटनापछि धेरैजसो भाग्ने गरेको स्मरण गर्नुभयो । एउटै चालकले पटकपटक नियम उल्लंघन गरेको फेला परेकोसमेत उहाँको भनाइ छ ।

चालु आवमा नियम उल्लंघन गर्ने तीन हजार ८७३ तीनपांग्रे सवारीलाई कारबाही गरिएको छ । चितवनका प्र्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ई–रिक्साहरु व्यवस्थापनसँगै साना चारपांग्रे सवारीको संख्या राजमार्गमा बढ्नसक्ने भएकाले यसतर्फपनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्