कार्यालय समायोजन अनिश्चित, कर्मचारीहरु अन्योलमा



चिरञ्जीवी मास्के, दोलखा ।

संघियता कार्यान्वयनको क्रममा नयाँ आर्थिक बर्षबाट स्थानिय तहमा समायोजन हुने भनिएका विकासे कार्यालयहरु सरकारको स्पष्ट निर्देशन नहुदा अन्यौलमा परेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अजयकुमार चौरसिया मन्त्रालयबाट स्पष्ट निर्देशन नहुदा कसरी काम गर्ने र के के काम गर्ने भन्ने अन्यौल भएको बताउछन् । नयाँ आर्थिक बर्षबाट स्थानिय तहमा समायोजन गर्ने भन्ने थियो तर मन्त्रालयबाट कुनै निर्देशन आएको छैन् – प्रमुख चौरसियाले भने । आफुले मन्त्रालमा सम्पर्क गर्दा अहिले कार्यालयमै हाजिर गरेर बस्नु, पछि पत्र आउछ भन्ने जवाफ पाएको उनले बताए ।

जिल्ला कृषि विकास कार्यालय दोलखाका प्रमुख नारायण श्रेष्ठ पनि नयाँ आर्थिक बर्षबाट कार्यालय नरहने भएपनि मन्त्रालयबाट स्पष्ट निर्देशन नआउदा काममा अन्यौलता भएको बताउछन् । अहिले कार्यालयमै ठाडो हाजिर गरेर बस्नु भन्ने निर्देशन आएको छ प्रमुख श्रेष्ठले भने – जसको कारण के काम गर्ने र कता जानुपर्ने हो भन्ने अन्यौलता छ ।

जिल्ला कृषि विकास कार्यालय दोलखामा कार्यालय प्रमुख एक जना, प्राविधिक दुई जना र कार्यालय सहयोगी ११ जना रहेका छन् । सेवा केन्द्रहरुमा रहेका कर्मचारीहरु भने यस अघिनै स्थानिय तहमा गै सकेका छन् । कार्यालयको सामान बुझबुझारथको लागि तयारी गरेको तर स्पष्ट निर्देशन नहुदा थन्काएर राख्नु परेको प्रमुख श्रेष्ठको भनाई छ ।

संघिय संरचना अनुसार दोलखा जिल्लामा रहेको बिभिन्न १७ वटा कार्यालय खारेजीमा परेको छ । ती कार्यालयहरु नयाँ आर्थिक बर्ष ०७५÷०७६ देखि स्थानिय तहमा समायोजन हुने उल्लेख छ । तर सरकारको स्पष्ट निर्देशनको अभावमा स्थानिय तहमा समायोजन हुनुपर्ने कार्यालयका प्रमुख एवं कर्मचारीहरु अन्यौलमा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दोलखामा १५ जना कर्मचारीहरु कार्यरत छन् । उनीहरु अहिले के काम गर्ने र कसरी गर्ने भन्ने अन्यौलमा रहेको कार्यालय प्रमुख चौरसियाको भनाई छ ।

जिल्ला पशु सेवा कार्यालय दोलखामा झन समस्या रहेको पशु चिकित्सक डा रामचन्द्र सापकोटा बताउछन् । जिल्लामा अहिले पशुमा लाग्ने खोरेत लगाएतको रोगको प्रकोप छ, तत्काल स्पष्ट निर्देशन भएन भने काम गर्न निक्कै समस्या हुन्छ – पशु चिकित्सक डा सापकोटाले भने ।

जिल्ला स्वास्थ्य, जिल्ला कृषि विकास जसरी जिल्ला पशुसेवा कार्यालयको गाँउमा रहेको १४ वटा सेवा केन्द्र समेत गाँउपालिकाहरुमा समायोजन भै नसकेकोले झन समस्या भएको डा सापकोटा बताउछन् । जिल्ला पशुसेवा कार्यालयमा अहिले १६ जना अस्थाई करार र ४७ जना स्थाई गरी ६३ जना कर्मचारी रहेका छन् । सम्बन्धित मन्त्रालयले स्थाई कर्मचारीले ठाडो हाजिर गर्ने र अस्थाईलाई हाजिर नगराउने निर्देशन आएको पनि डा सापकोटाले बताए ।

दोलखा सदरमुकाम चरिकोटमा रहेको डिभिजन सहकारी कार्यालय भने असार ३२ गते विधिवत रुपमा स्थानिय तहमा समायोजन भएको छ । डिभिजन सहकारीले कार्यालयमा रहेको जिन्सि सामान जिल्ला समन्वय समितिमा बुझाएको समन्वय प्रमुख डबल पाण्डेले बताए ।

कार्यालयमा रहेका कर्मचारीहरुमा कार्यालय प्रमुख विभागमा गएको, एक जना कर्मचारी जिल्ला समन्वय समितिमा हाजिर भएको र करारमा रहेका तीन जना कर्मचारी विदा भएको जिल्ला समन्वय समितिको प्रमुख पाण्डेले बताए । तर अन्य कार्यालयहरुले भने अहिलेसम्म बुझ बुझारथ नगरेको पाण्डेको भनाई छ ।

चालु आर्थिक बर्षको अन्त्य भएकोले सोमवार मन्त्री परिषद बैठकले कार्यालयहरु समायोजन गर्ने विषयमा कुनै ठोस निर्णय गर्छ भन्ने अपेक्षा गरिएकोमा त्यसो हुन नसकेको र जिल्लामा समायोजन हुनुपर्ने कार्यालयको कर्मचारीहरु अन्यौलमा परेको समन्वय प्रमुख पाण्डेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्