३ हजार ७ सय २ वर्ष कैद असुल बाँकी



नेपाल समाचारपत्र, हेटौंडा।
जिल्ला अदालत मकवानपुरले अदालतबाट फैसला भएका मुद्धाको ३ हजार ७ सय २ वर्ष ३ महिना १० दिन कैद असुल गर्न बाँकी छ । अदालत स्थापना भएदेखि हालसम्मको अवधिमा यतिका वर्ष अभियुक्तहरुबाट कैद असुल गर्न बाँकी रहेको हो ।

अदालतले पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्षसम्म ४ हजार ४ सय ४ वर्ष ७ महिना फरार अभियुक्तबाट कैद असुल गर्न बाँकी रहेको जनाएको छ । तर, चालु आर्थिक वर्षमा ७ सय २ वर्ष ३ महिना २० दिन कैद असुल भएको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार अनन्त मरासिनीले बताउनुभयो ।

फरार अभियुक्तबाट अदालतले १२ करोड २० लाख ३६ हजार रुपियाँ जरिवाना रकम असुल गर्न बाँकी छ । गत आर्थिक वर्षसम्म १४ करोड २ लाख ९६ हजार रुपियाँ अभियुक्तबाट जरिवाना रकम असुल गर्नुपर्ने भए पनि चालु आर्थिक वर्षमा एक करोड ८२ लाख ५९ हजार रुपियाँ जरिवाना असुल गरिएको अदालतका न्यायाधीश खडानन्द तिवारीले बताउनुभयो ।

मकवानपुरमा झण्डै पाँच सय वटा मुद्धा बढेका छन् । बुधबारसम्म एक हजार ९ सय ६२ वटा मुद्धा अदालतमा परेका हुन् । सम्बन्ध विच्छेद, लागुऔषध र अंशलगायत मुद्धा पर्ने क्रम धेरै बढेको हो ।

परेका मुद्धामध्ये चालु आर्थिक वर्षमा एक हजार २ सय ७९ मुद्धा फैसला भएको छ । ६ सय ७९ वटा मुद्धा फैसला बाँकी छ । गत आर्थिक वर्षमा एक हजार ४ सय ७० थान मुद्धा अदालतमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्