जनप्रतिनिधिले बुझे पहिलो तलब



नेपाल समाचारपत्र, हेटौंडा ।
लामो प्रतीक्षापछि हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले एक वर्षको एकमुष्ट तलब बुझेका छन् ।

३ नम्बर प्रदेश सरकारले स्थानीय तहका लागि जनप्रतिनिधिको सेवासुविधा तोकेसँगै प्रदेशले कानुन निर्माण गरेर राजपत्र प्रकाशित गरेपश्चात् स्थानीय तहका पदाधिकारीलाई सेवासुविधा आएको हो ।

नगरप्रमुख, उपप्रमुख, नगर कार्यपालिका सदस्य, वडाअध्यक्ष र वडा सदस्यहरुले करिब ११ करोड १२ लाख रुपियाँ सुविधा बुझेका हुन् ।

उपमहानगर मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यले १ वर्षको सुविधावापत् एकमुष्ट रकम खातामा पठाइएको हेटौंडा उपमहानगरपालिका लेखा शाखाले जनाएको छ ।

३ नम्बर प्रदेशसभाले बनाएको प्रदेश ऐनअनुसार उपमहानगरपालिकाले मेयरले प्रतिमहिना ४० हजार सुविधा र २ हजार ५ सय रुपियाँ सञ्चार सुविधा प्राप्त गरेका छन् । उपमेयरलाई प्रतिमहिना ३५ हजार र सञ्चार सुविधा २ हजार रुपियाँ, वडा अध्यक्षलाई प्रतिमहिना २२ हजार र सञ्चार सुविधा १ हजार रुपियाँ छ । कार्यपालिका सदस्यलाई ७ हजार ५ सय र वडा सदस्यहरुलाई प्रतिमहिना ६ हजार ५ सय रुपियाँ छ ।

उपमहानगर मेयरलाई १ वर्षको एकमुष्ट ४ लाख ८० हजार र ३० हजार र सञ्चार खर्च खातामा जम्मा गरिएको लेखा शाखा प्रमुख सुवेदीले जानकारी दिनुभएको हो । उपमेयरलाई १ वर्षको ४ लाख २० हजार र सञ्चार खर्च २४ हजार एकमुष्ट खातामा जम्मा गरिएको छ ।

४ जना वडा सदस्य जिल्ला समन्वय समितिमा मनोनित भएकाले १९ वडाका जम्मा ७२ सदस्यलाई सरकारका तर्फबाट प्रतिमहिना ६ हजार ५ सयका दरले ५ करोड ६१ लाख ६ हजार एकमुष्ट रकम खातामा जम्मा गरिएको लेखा शाखाले जानकारी दिएको छ ।

नगर कार्यपालिकामा मनोनित ३ जना सदस्यलाई प्रतिमहिना ७ हजार ५ सयका दरले १ वर्षको एकमुष्ट २ लाख ७० हजार भुक्तानी गरेको हो । १९ वटै वडाका वडाध्यक्षलाई १ वर्षको ५ करोड १६ लाख र सञ्चार खर्च २ लाख २८ हजार खातामा जम्मा गरिएको शाखा प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्