देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक, आन्दोलनबारे छलफल गरिने



नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाली कांग्रेसले बुधबार बिहान पदाधिकारीहरुको बैठक आवहन गरेको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको बैठकमा सरकारविरुद्ध घोषित आन्दोलन र समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताइएको छ ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्नेसहितका सरकार विरुद्धका कार्यक्रमहरु तय गरेको छ ।

कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले साउन ३, ५ र ८ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय समेत भएको पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

सरकारले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरेको, मिडियामाथि अंकुश लगाउने प्रयत्न गर्नुको साथै संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने जस्ता प्रवृत्ति देखाएको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्