नेपाली क्रिकेट टोलीको घोषणा, सुवासको पुनरागमन



काठमाडौं, (नेस)
यसै जुलाईको २९ देखि लन्डनमा हुने त्रिकोणात्मक वान डे सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) प्रतिनिधि, नेपाली प्रशिक्षक जगत टमाटा र नेपाली कप्तान पारस खड्काको संयोजकत्वमा १५ सदस्यीय टोली तयार गरिएको हो । जसमा विकेटकिपर ब्याटसम्यान सुवास खकुरेलले करिब तीन वर्षपछि राष्ट्रिय क्रिकेट टोलीमा स्थान सुरक्षित गरेका छन् ।

सुवासको विकेटकिपिङ उत्कृष्ट हुँदा हुँदै चोटको कारण टोलीबाट अलग हुनु परेका थिए । उनले अघिल्लो पटक आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५ मा सहभागि जनाएका थिए । उनले सो च्याम्पियनसिपअन्तर्गत नोभेम्बरमा पपुवा न्यु गिनीसँग खेलेका थिए । तर सुवासले हालै धनगढी प्रिमियर लिग र काठमाडौंमा सम्प्न्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रशिक्षक टमाटाका अनुसार उनको टोलीमा फेरि स्थान रहनु नेपालको ओपनिङ बलियो हुने आशा गरेका छन् ।

सो टोलीमा कप्तानमा पारस खड्का यथावत छन् भने उपकप्तानको भार ज्ञानेन्द्र मल्लकै काँधमा रहेको छ । अन्य खेलाडीमा अनिलकुमार साह, दिपेन्द्रसिंह ऐरी, मोहम्मद आरिफ शेख, सरद भेषवाकर र रोहित कुमार पौडेलले ब्याटिङको जिम्मा लिनेछन् । यस्तै करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, ललित नारायण राजवंशी, वसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीलाई बलिङको जिम्मेबारी दिइएको छ । नव खेलाडीको रुपमा कोही छैनन् ।

यसैगरी वैकल्पिक खेलाडीका रुपमा विनोद भण्डारी, सुनील धमला, सुसन भारी र प्रदीप ऐरीलाई राखिएको छ । नेपालले नेदरल्यान्डस्सँग लन्डनस्थित लर्डस् क्रिकेट मैदानमा खेल्नेछ । र अर्को टोली लर्डसकै पुरानो क्लब एमएमसी रहेको छ । नेपाली टोली बिहीबार इंग्ल्यान्डतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्