डा.केसीको स्वास्थ्यमा गडबडी, वार्ता असफल



नेपाल समाचारपत्र, काठमाडौ
चिकित्सा शिक्षाको सुधारका लागि विगत १८ दिन देखि सत्याग्रहमा रहनुभएका प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था विगत २४ घण्टामा व्यापक गडबडी भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

डा.केसीको मुटुको चाल, स्वासप्रश्वासको गति र रक्तचापमा व्यापक गढबढी देखिएको उपचारमा संलग्न डा.पुजन रोकाया, डा. सिद्धार्थ खाती र डा.धिरज गुरुङले साउन १ गते जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । जारी विज्ञप्तिमा उल्लेख गरे अनुसार रगतमा अक्सिजनको मात्रा निरन्तर कमी रहेकाले डा.केसीलाई लगातार अक्सिजन दिईरहेको छ । बिहानीपख अचानक स्याचुरेसन घटेर ७० को हाराहारीमा पुगेपछि अक्सिजनको मात्रा बढाईएको छ ।

चौथर्फी रुपमा डा.केसीको जीवन रक्षाको माग राख्दै सरकारलाई दबाब सृजना भएपछि अनसन बसेको १७औं दिनमा गठन गरेको बार्ताटोली केपी ओली सरकारको झारा टार्ने र अनसनलाई बीचैमा निस्कृय बनाउने खेल भएको डा.केसीका तर्फबाट वार्तामा जुटेका प्रतिनिधिहरुको धारणा रहेको छ ।

डा केसी पक्षबाट वार्ताटोलीमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले सरकारी वार्ता टोलीले डा केसीलाई ‘सत्याग्रही’ नभइ ‘बिरामी’ का रुपमा लिएको बताउनुभयोे । सरकारका तर्फबाट ‘वार्ता टोलीमा सहभागी प्रतिनिधिले डा.केसीको रेस्क्यु र उपचारका विषयमा मात्रै आफूहरुलाई कुरा गर्ने अधिकार भएको र बाँकी बिषय राजनीतिक भएकाले आफूसँग ‘म्यान्डेट’ नरहेको बताउनुभयो ।’

अर्याल भन्नुहुन्छ– ‘सरकारी टोलीबाट यस्तो भनाई आएपछि वार्ता स्थलबाट हामी बाहिरिनुको विकल्प नभएको बताउनुभयो । सरकार डा केसीका माग र स्वास्थ्य प्रति गम्भीर नभएको डा केसी समर्थकले बुझेका छन् । सरकारका तर्फबाट वार्ता टोली गठन गरेको देखाएर आन्दोलन कमजोर बनाउने रणनीति लिएको हाम्रो ठहर छ ।’

डा केसीसँग वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो । वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी थिए । त्यसैगरी डा केसीका तर्फबाट डा अभिषेक सिंह,वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्