सिटामलको भरमा बिरामी



धनवीर दाहाल, रुकुम
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बरमा ७ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सिटामल बाहेक अन्य औषधि नभएको पाईएको छ । उपचारका लागि स्वास्थ्य केन्द्रमा आउने विरामीहरुले सिटामल मात्र पाउने गरेको बाध्यता सुनाएपछि अन्य औषधि नभएको पत्ता लागेको हो ।

डाक्टर बिहिन बनेको स्वास्थ्य केन्द्रमा सिटामल मात्र पाईन थालेपछि स्वास्थ्य चेकजाँच तथा उपचार गराउन आउने विरामीको संख्या समेत घट्न थालेको छ । स्वास्थ्य केन्द्रमा अक्सिजन, सादा एक्सरे, भिडियो एक्सरे, ल्याब, फार्मेसी लगायतका अन्य सेवाहरु नहुँदा बिरामीहरु मर्कामा परेका छन् ।

घर आँगनकै स्वास्थ्य केन्द्रमा सबै किसिमको उपचार तथा औषधि नपाईने भएकाले धेरैजसो विरामीलाई बाहिर जानुपर्ने बाध्यता रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोटजहरीमा चौरजहरी नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ का विरामीहरु उपचार गर्न आउने गर्दछन् । तर स्वास्थ्य केन्द्रमा निशुल्क रुपमा पाईने औषधि समेत नभएकोले स्वास्थ्य केन्द्रले नै विरामीलाई निजी स्वास्थ्य संस्थामा औषधि किन्न आग्रह गर्ने गर्दछ ।

विरामीहरुका लागि प्रयाप्त मात्रामा औषधि नभएको र निशुल्क रुपमा प्रदान गरिने औषधि समेत बाहिरबाट किन्न लगाउनुपर्ने बाध्यता रहेको हेल्थ असिसटेन्ट रामबहादुर सुनारले बताए । ‘स्वास्थ्य केन्द्रमा सादा एक्सरे, भिडियो एक्सरे, ल्याब, फार्मेसी लगायतका सेवाहरु नहुँदा जटिल प्रकृति र इमर्जेन्सी विरामीहरुलाई रेफर गर्दै आईरहेका छौं, उनले भने ।’ निमित्तको भरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समय देखी दरवन्दी अनुसार कर्मचारीको पनि पदपूर्ति हुन सकेको छैन ।

यहाँको प्राथमिक स्वास्थ्य केन्द्रमा भरपर्दो सेवा नपाईने भएपछि प्रायजसो बिरामीहरु मिसन अस्पत्ताल चौरजहारी तथा जाजरकोट अस्पत्ताल जाने गर्दछन् । प्राथमिक स्वास्थ्य केन्द्र कोटजहरीले गरेको सामाजिक परिक्षण कार्यक्रममा स्थानीयले आफुहरुले सिटामोल बाहेक अरु औषधी नपाएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्