‘संस्थागत भ्रष्टाचारले विकासमा बाधा’



नेपाल समाचारपत्र, लमजुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचारले विकासमा बाधा परेको बताउनु भएको छ । जिल्ला समन्वय समिति लमजुङको दोस्रो जिल्ला सभाको उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनु भएको हो ।

मुख्यमन्त्री गुरुङले भ्रष्टाचार, ढिलासुस्ती, काममा लापरवाही हुुनुका साथै संस्थागत रूपमै भ्रष्टाचारले जरा गाडेका कारण विकासका काम आशाअनुरूप हुन नसकेको हो भन्नुभयो । उपभोक्ता समितिका कुनै पनि पदमा जनप्रतिनिधि बस्न नहुनेमा जोड दिदै ‘संस्थागत रुपमा पनि भ्रष्टचार भइरहेको छ । उपभोक्ता समितिमा पनि यो समस्या छ ।

त्यसतर्फ स्थानीय सरकारको ध्यान जान आवश्यक छ’ उहाँले भन्नुभयो । उहाँले भ्रष्टाचार तथा अनियमित कार्यलाई शुन्यमा झार्न जिससका प्रमुख र सदस्यहरु निरन्तर लाग्नुपर्छ भन्नुभयो । उहाँले विकास निर्माणका कार्यमा क्षेत्रगत र संस्थागत रुपमा विभाजन गरी जनप्रतिनिधीले काम गरे विकास निर्माणले गति लिने विश्वास व्यक्त गर्नु भयो । त्योसँग विकास निर्माणका काममा भ्रष्टाचार र अनियमितता जस्ता गैरकानूनी क्रियाकलाप रोकिनेछ भन्नुभयो ।

त्यसको अनुगमन गर्ने र विकासमा समन्वय गर्ने दायित्व अब जिससको हो मुख्यमन्त्री गुरुङले भन्नुभयो ।

जिल्ला समन्वय समितिसहितका सबै स्थानीय तहका जनप्रतिनिधिलाई जिम्मेवारी ढंगबाट काम गर्न निर्देशन दिनु भएको हो । ‘संघीय संरचनामा विकासको गति हिजोको कर्मचारीले चलाएको जस्तो हुनुहुदैन । जनताको अपेक्षा अनुसार काम गर्नुपर्छ । बजेट सिध्याउने मात्रै काम गर्नुहुँदैन’ उहाँले भन्नुभयो, ‘विकास निर्माणमा जनप्रतिनिधिले अनुगमन गरे नगरेको प्रदेश कार्यालयले हेर्छ ।’

मुख्यमन्त्री गुरुङले संघीयताको कार्यान्वयन सफल रुपमा भए मात्रै विकास र समृद्धि हासिल हुने बताउनु भयो । उहाँले स्थानीय सरकार वलियो भएमात्र जनाताले सिंहदरबारको अधिकार गाउँमा आएको महसुस गर्ने बताउँदै जनप्रतिनिधीहरु जनता प्रति उत्तरदायी भए संघीयता सफल हुनेमा जोड दिनु भयो । जनताका समस्याहरु समाधान गर्दै जनताप्रति उत्तरदायी, जवाफदेही भई काम गर्न जनप्रतिनिधीलाई निर्देशन दिनु भयो । जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकामा खटिएका कर्मचारीलाई क्षमता अभिवृद्धि हुने खालका तालिम सञ्चालन गर्न जिसस लमजुङलाई मुख्यमन्त्री गुरुङले ध्यानाकार्षण गर्नु भयो ।

उक्त सभामा प्रदेश सभा सदस्य सांसद त्रय मायानाथ अधिकारी, धनन्जय दवाडी र मधु अधिकारी, संविधान सभा सदस्य टुका हमाल, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे, बेसीशहर नगरपालिकाका मेयर गुमानसिं अर्याल, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, नेकपाका जिल्ला संयोजक कृष्णप्रसाद अधिकारी, काँग्रेसका जिल्ला अध्यक्ष भेषबहादुर पौडेल, राप्रपाका जिल्ला अध्यक्ष इन्द्रबहादुर मल्ल र नयाँ शक्ति नेपालका जिल्ला संयोजक राजु थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेको अध्यक्षतामा गरीएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख धनमाया तामाङले स्वागत मन्तव्य तथा सञ्चालन जिल्ला समन्वय अधिकारी अन्तरबहादुर सिलवालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्