दिनभर विद्युत कार्यालय बन्द, कर्मचारी भोजमा रमाउँदा सेवाग्राहीलाई सास्ती



प्रताप बानियाँ, म्याग्दी
नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र बेनीमा कार्यरत कर्मचारीहरुले सोमबार दिनभर कार्यालय बन्द गरेर भोज खाएका छन् । चालु आर्थिक वर्ष २०७४÷७५ को अन्तिम दिन आर्थिक खाताबन्दी गर्नुपर्ने भएकोले विद्युत महशुल सङ्कलन काउन्टर बन्द गरेको सूचना टाँसेर कर्मचारीहरु दिनभर भोजमा रमाएका हुन् ।

आवको अन्तिम दिन कार्यालयको सूचना पाटीमा ‘२०७४÷७५ को आर्थिक खाताबन्दी गर्नुपर्ने भएकाले उक्त दिन यस वितरण केन्द्रको विद्युत महशुल सङ्कलन काउण्टर बन्द हुने’ व्यहोराको सूचना टाँस गरिए पनि कार्यालयभित्र सबै शाखा बन्द अवस्थामा रहेका थिए । कार्यालयमा शाखाका कर्मचारीहरु कोही पनि थिएनन् । उनीहरु दिनभर जसो पर्वतको जलजला गाउँपालिका–४, मिलनचोकस्थित सव–स्टेशन परिसरमा भोजमा सहभागी भएका थिए ।

कार्यालयमा कार्यरत प्रशासन, लेखा, प्राविधिकसहित सबै फाँटका कर्मचारीहरुले एकजना सवारी चालकलाई मात्र कार्यालयमा कुरुवा राखेर सेवाग्राहीको कामलाई बेवास्ता गर्दै विदा नभएको दिनमा पनि भोज खान गएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

बिना जानकारी कार्यालय बन्द गरिँदा महशुल बुझाउन, मिटर बक्स लिन, विभिन्न योजनाको भुक्तानी लिनुपर्ने कामका लागि कार्यालय पुगेका सेवाग्राहीहरु भने रित्तै हात फर्कन बाध्य भएको रघुगंगा गाउँपालिका–३, पिप्लेका रमेश रानाले गुनासो गनुभयो । ‘मानो खाएर मुरी उब्जाउने समयमा घरको काम छाडेर विद्युत कार्यालयमा काम लिएर आएँ’ उहाँले भन्नुभयो, ‘तर यहाँ त दिनभर कार्यालय बन्द हुँदा विद्युत महशुल तिर्न पाइन ।’

कर्मचारीहरु भोजमा रमाइरहँदा सोमबार दिउँसो विद्युत आपूर्ति नियमित हुन नसक्दा आजित भएका सेवाग्राहीहरुले कार्यालयमा फोन गर्दा फोन समेत नउठेको बताएका छन् । यता म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले कार्यालय प्रमुखसमक्ष बुझ्दा विभागको निर्देशन अनुसार विद्युत महशुल सङ्कलन काउन्टर बन्द गरिएको जानकारी आफूलाई आएको बताउनुभयो । उहाँले कार्यालय पुरा बन्द नगरिएको जानकारी आएको बताउँदै अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द गर्न नमिल्ने बताउनुभएको छ । कर्मचारीहरु पनि नियममा बस्नुपर्ने प्रजिअ अधिकारीको भनाइ छ ।

यस विषयमा नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेसँग बुझ्दा हरेक वर्ष असार मसान्तको अन्तिम दिन केन्द्रको निर्देशन अनुसार विद्युत महशुल सङ्कलन काउण्टर सेवा बन्द हुनेहुँदा सोही अनुसार बन्द गरिएको दावी गर्नुभयो ।

उहाँले विद्युत महशुल सङ्कलन काउण्टर बन्द गरेपछि नामसारी, ठाउँसारी, मिटरबक्स दिने जस्ता केही पनि काम नहुने भन्दै आफूहरु भोजमा नगई मिलनचोकको सव–स्टेशनमा ब्रेकरको काम गर्न प्राविधिकसहित गएको बताउनुभयो ।

विद्युत महशुल सङ्कलन काउण्टर बन्द भएपछि कार्यालयको अन्य काम समेत नहुने हुँदा आफूहरु सव–स्टेशनमा ब्रेकरको काम गर्ने क्रममा भोज नभई खाजा खाएको स्वीकार गर्नुभयो । एफएमलगायत सञ्चारमाध्यममा सूचना नदिइए पनि विद्युत कार्यालयको फेसबुक पेज, सूचना बोर्ड र आफूले फेसबुक वालमा केन्द्रबाट प्राप्त सूचना राखेको उहाँले बताउनुभयो ।

यसअघि पनि विभिन्न समयमा विद्युतको नियमित आपूर्ति हुन नसक्दा सेवाग्राहीहरु आक्रोशित भएर कार्यालय तोडफोडमै उत्रिएका थिए । म्याग्दी उद्योग वाणिज्य संघ, जिल्लास्थित युवा तथा विद्यार्थी संघ सङ्गठनहरुले समेत पटकपटक नियमित रुपमा विद्युत आपूर्ति गराउन माग गर्दै डेलिगेसन, कार्यालय घेराउ जस्ता कार्यक्रम गर्दै आएका छन् ।

तर, सेवाग्राही र सर्वसाधारणहरुले उठाएको मागप्रति भने विद्युत कार्यालय उदासिन देखिदै गएको छ । यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिन नसक्दा विद्युत कार्यालयमा समस्या आउने गरेको बताइएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आए पनि सार्वजनिक सरोकारका विषयमा अनुगमन नहुँदा बिकृति मौलाउँदै गैरहेको छ । जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा आर्थिक अनियमिमता, कार्यालयमा कर्मचारी नबस्नु, समयमा सर्वसाधारणको काम नहुनु, कार्यालय समयको दिन कार्यालय नै बन्द हुने जस्ता गतिविधिहरु बढ्दै गएपनि स्थानीय प्रशासन र सरोकारवाला भने टुलुटुलु हेरेर बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्