रहरका गुरुयोजना



सलिम अन्सारी,प्यूठान
आर्थिक बर्ष २०७५ ७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेसंगै स्थानिय तहमा असार मसान्तको चटारो सकिएको छ । गाँउ तथा नगरसभाबाट बजेट सार्वजनिक गरेका स्थानिय तहहरुले यस पटक आफ्ना बजेटमा लगानीका क्षेत्र प्राथमिकिरण गरेका छन् ।

उनिहरुले चालु आर्थिक वर्षको धेरैजसो बजेट भौतिक पुर्वाधारका क्षेत्रमा खर्चेका थिए। यसपटक भने दिर्घकालिन मह्त्वका योजना भन्दै गुरुयोजनाको अबधारणा अघि सारेका छन। तर, पुर्व तयारी बिना नै गुरुयोजनामा बजेट बिनियोजन भएको भन्दै त्यस्को आलोचना समेत सुरु भएको छ । गुरुयोजनाको स्पष्ट खाका र कार्य्विधी बिना नै बजेट खन्याईएपछी त्यसको चर्चा हुन थालेको हो । प्यूठानका नौ स्थानिय तह मध्ये धेरैजसोले हचुवाका भरमा गुरुयोजना भन्दै बजेट विनियोजन गरेका हुन ।

कतिपय स्थानीयतहहरुले गुरुयोजना बनाउन रकम खर्चिएपनि त्यसको ठोस खाका सार्वजनिक गरेका छैनन् । कागजी रुपमा बनाईएका यस्ता गुरुयोजनाको नाममा बजेटको दुरुपयोग हुने त होईन भन्ने सवालहरु तेर्सिएका छन् । गुरुयोजना या आवधिक योजनाले स्थानिय तहका श्रोत साधन देखि खर्च गर्ने बैज्ञानिक उपाए सुझाउछ । कुनै आयोजना वा परियोजनाको लक्षित सफलता हात पार्न समय र बजेट निर्धारण गरि तयार गरिएको कार्ययोजनाको विस्तृत खाका पनि हो गुरुयोजना । तर स्थानीय तहले त्यस्ता खाका तयार गरेको देखिन्न् ।

। गुरुयोजनाबाट प्राप्त हुने परिणाम र यस्को कार्यान्वयनवारे स्वयं स्थानीय सरकार अलमलमा परेका छन। चरणबद्ध रुपमा पुरा गर्नुपर्ने ठूला योजनामा समेत आवाश्यक बजेट व्यवस्थापन गरेका छैन्न । स्थानियतहको आवधिक योजना र गुरुयोजना बनाउने नाउमा हुने अनावश्यक खर्च प्रती स्थानिय तह सचेत हुनुपर्ने बताउदै जानकारहरु भनछन। जनताको आवास्यक्ता अनुसारका योजनामा बजेट खर्च गरिनुपर्छ । ‘ विज्ञ बिना नै गुरुयोजना बनाउँदा त्यसको परिणाम सार्थक हुदैन ।’ नेपाली कांग्रेस प्यूठानका सचिव देवेन्द्र वर्माले भने, ‘गुरुयोजना बनाउँदा स्थानिय सरकारले समुदाय र बिज्ञहरुसंग समन्वय गर्नुपर्दछ ।’

ऐरावती गाँउपालिकाले पालिकाको समग्र पक्षकोलागि भन्दै गुरुयोजना तयार गर्न ४० लाख बजेट विनियोजन गरेको कार्यकारी अधिकृत अर्जुनसेन वलीले बताए । प्यूठान नगरपालिकाले पनि गुरुयोजना बनाउन ४० लाख बजेट बिनियोजन गरेको छ । यसैगरि झिमरुक गाँउपालिकाले चालु आ.व.मा ५ वर्षे आवधिक योजना तयार गर्न १० लाख बजेट विनियोजन गरि गुरुयोजनाको काम अघि बढाएको कार्यकारी अधिकृत ताराकिरण केसीले बताए । मल्लरानी गाँउपालिकाले पनि वडा तथा पालिकाको गुरुयोजना तयार गर्न करिब १६ लाख बजेट व्यवस्थापन गरेको पालिका अध्यक्ष अमरध्वज रानाले बताएका छन् ।

स्थानीय तहहरुले नीतिगत रुपमा दिर्घकालिन महत्व राख्ने योजनावारे स्पष्टरुपमा खाका तयार गर्न सकिरहेका छैनन् । ५ वर्ष पछि गाँउ तथा नगरपालिकाका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्र, सामाजिक तथा आर्थिक विकासमा के–कस्ता उपलब्धीहरु हासिल गर्ने, औधोगिक क्षेत्र, लघु उद्यमशिलता, स्वरोजगार तथा आत्मनिर्भरतामा कस्तो परिणाम हासिल गर्ने त्यसबारे बेलैमा स्थानिय सरकारको ध्यान पुग्न जरुरी रहेको जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले बताए । ‘प्रोफाईल बनाएर दिर्घकालिन सोँचका साथ अघि जान प¥यो ।’ प्रमुख आर्चायले भने,‘ जनप्रतिनिधिहरुको क्षमता विकासमा अभिमुखिकरण कार्यक्रम तथा गोष्ठीहरु बेलाबखतमा गर्ने गरेका छौँ ।’

प्यूठानको आर्थिक समृद्धिको मुख्य श्रोत कृषि क्षेत्र भएको बैङ्कीङ क्षेत्रका विज्ञ मदन बहादुर केसीले बताए । ‘परम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्नैपर्दछ ।’ केसीले भने, ‘आधुनिक तथा व्यवसायिक खेतिमा कृषकलाई प्रत्यक्ष फाईदा पुग्ने खालका कार्यक्रम बनाउन नितान्त आवस्यक छ ।’ कम व्याजदरमा सरकारबाट कृषकलाई ऋणको व्यवस्थापन गरि आधुनिक कृषि प्रणाली तथा उत्पादकत्व बढाउने कार्यक्रम ल्याउनुपर्नेमा स्थानिय सरकारले ध्यान दिनुपर्ने केसीले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्