बालबालिकालाई अपाङ्गमैत्री व्हिलचियर वितरण



नेपाल समाचारपत्र, काठमाडौं
अपाङ्गता भएका १८ जना बालबालिकालाई अपाङ्गमैत्री व्हिलचियर वितरण गरिएको छ । ४ देखि १२ वर्षसम्मका बालबालिकालाई मंगलबार व्हिलचियर वितरण गरिएको हो ।

अपाङ्गता भएका बालबालिका र उनीहरुका अभिभावकको मनोबल बढाउन नेपालका लागि इजरायली दूतावास, लायन्स क्लब काठमाडौ क्यापिटल डिस्ट्रिक्ट ३२५–ए२ र करुणा फाउन्डेसनको त्रिपक्षिय सहकार्य गरेका हुन् । २२ जना बालबालिकालाई पनि छिटै व्हिलचियर उपलब्ध गराइने क्लवले जनाएको छ ।

तीनवटै निकायको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार १८ जना व्हिलचियर वितरण गर्नुभयो । मानवीय कार्यमा दूतावासले पु¥याएको सहयोगको प्रसंशा गर्दै उहाँले आगामी दिनमा द्धिपक्षीय सहयोगको दायरा अझै फराकिलो बन्ने विश्वास व्यक्त गर्नुभयो । साथै लायन्स क्लब र फाउण्डेसनको सामाजिक कार्यको समेत मन्त्री ज्ञवालीले चर्चा गर्नुभयो । नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरले मानवीय र सामाजिक कार्यमा आफ्नो मुलुकको सहयोग निरन्तर रहने बताउनुभयो ।

त्यसैगरी फाउण्डेशनका उपाध्याक्ष प्राडा भगवान कोइरालाले नेपालमा अपाङ्ग ब्यक्तिहरुका लागि सामाजिक र व्यवहारिक अवरोध मुख्य चुनौतीका रुपमा खडा भएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘सबै किसिमका अवरोध र मिथ्यालाई तोड्दै अपाङ्गता भएका व्यक्तिहरुलाई मूलधारमा ल्याउन ढिलो भइसकेको छ ।

सो कार्यक्रमका संयोजक एवं लायन किशोर भक्त श्रेष्ठका अनुसार केही साताभित्रैमा २२ बालबालिकालाई पनि सहयोग उपलब्ध गराइने छ । राष्ट्रिय अपाङ्ग महासंघसँगको सहकार्यमा लायन्स क्लबले विगत ८ वर्षदेखि अपाङ्गता भएका व्यक्तिहरुलाई व्हिलचियर, कृतिम हातखुट्टा, थेरापी, परामर्श सेवा उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्