पेस्तोलसहित समातिएकालाई म्याद थप



नेपाल समाचारपत्र, ललितपुर
दुई थान पेस्तोल र ५६ राउण्ड गोलीसहित समातिएका पाँच जनालाई ललितपुर जिल्ला अदालतले १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको छ ।

अदालतले मंगलबार हातहतियार खरखजानामा थप अनुसन्धानको लागि म्याद थप गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएका प्रहरीको टोलीले गत आईतबार ललितपुरको नख्खिपोटबाट पाँच जनालाई पक्राउ गरेको थियो । हतियार सहित पक्राउ पर्नेहरुमा हेमराज पौडेल, कृष्णबहादुर जोगी र अंशुराम मोक्तान हुन् ।

उनीहरुको साथबाट ‘मेड इन जर्मनी’ लेखिएको पेस्तोल थान १, सो मा लोड भएको ५ राउण्ड गोलीसहितको म्याग्जीन थान १ र खाली म्यागजीन थान १ समेत फेला परेको प्रहरीले जनाएको छ । उनीहरुबारे अनुसन्धान भइरहेका बेला सोमबार ललितपुरको भोलढोकाबाट रामचन्द्र अधिकारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

अधिकारीले दिएको बयानका आधारमा प्रहरीको टोलीले सोमबार तिखिदेवलबाट रोशन सुब्बालाई पक्राउ गरिएको थियो । ‘आईतबार तीन जनालाई समातिएको घटनासँग जोडेर रोशनलाई पक्राउ गर्न सफल भएका हौं, उनी हतियार बेच्ने गिरोहका नाइके हुन्’–ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर एैरले भन्नुभयो । ४५ वर्षिय रोशनबाट बरामद दुवै पेस्तोल लोडेड अवस्थामा भेटिएकाले उनलाई नियन्त्रणमा लिन गाह्रो परेको उहाँले बताउनुभयो ।

सुब्बा तिखिदेवलस्थित आफ्नै कोठाबाट पक्राउ परेका थिए । उनलाई प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायब निरीक्षक नरेन्द्र चन्द र प्रहरी निरीक्षक खुमलाल भुषालको टोलीले पक्राउ गरेको थियो । लिम्बु आपराधिक समूहको हतियार डिलर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एैरको भनाई छ । यस घटनामा काठमाडौं र ललितपुर परिसरको टोली छुट्टाछुट्टै रुपमा विगत एक महिनादेखि खटेको थियो ।

प्रहरीका अनुसार रोशनले भारतको सिलगुडीबाट हतियार किनेर ल्याएर आपराधिक समूहलाई बिक्री वा भाडामा दिने गरेका थिए । उनले भारतमा ३० हजार भारतीय रुपैयाँमा किनेर नेपालमा ८० हजार रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको बताइएको छ । खुमलटारका पुराना बासिन्दा रोशनले ललितपुरकै ताल्छिखेलमा रेस्टुरेन्ट सन्चालन गर्दै आएका थिए । उनको मोबाइल मर्मत पसल पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्