विषालु च्याउ खाएर एकैवडाका तीनको मृत्यु



नरेन्द्र केसी, घोराही, दाङ
जंगली च्याउ खाँदा दाङको घोराही उपमहानगरपालिकामा एकै वडाका तीन जनाको मृत्यु भएको छ ।

जिल्लाकै पहाडी गाउँको रुपमा रहेको घोराही उपमहानगरपालिका–१९ का तीन जनाको मृत्यु भएको हो ।

यसरी ज्यान गुमाउनेहरुमा पाँचपोखरीका चित्रबहादुर घर्ती, बालाराम घर्ती र पाँच वर्षीया प्रशंसा घर्ती रहेका छन् । चित्रबहादुरलाई घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा राखेको बेला निधन भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको पनि कोहलपुरमै निधन भएको हो ।

पटकपटक गरी दाङमा बिषालु च्याउ खाएर ४५ जना विरामी परेका छन् । त्यसमध्ये अधिकांशको बाँकेमा उपचार भइहरेको छ । बर्षातको समयमा जंगलमा प्रशस्त च्याउ उम्रने र स्थानीयबासीले अनुमानका आधारमा ज्यान जाने गरेको देखिएको छ ।

यसैबीच जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले जंगली च्याउ नखान सार्वजनिक अनुरोध नै गरेका छन् । उनीहरुले स्थानीय सञ्चारमाध्यममार्फत सार्वजनिक आव्हान गरिरहेका छन् । विगतदेखि जंगली च्याउ खाँदै आएकोमा अनुमानका आधारमा च्याउ खाने र त्यसबाट क्षति हुन थालेपछि च्याउ नखान सार्वजनिक आव्हान गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । चेतनाको अभावमा दाङमा धेरै विरामी परेको सूचना आएको जनाउँदै उहाँले यसलाई कम गर्न जंगली च्याउसम्बन्धी जनचेतना विस्तार गर्नुपर्ने बताउनुभयो ।

आर्थिक अभावले विरामीलाई उपचारको समस्या
विरामीलाई आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको छ । विरामी पर्ने सबै आर्थिक अवस्था कमजोर भएका नागरिक भएकाले उपचारमा समस्या आएको वडा अध्यक्ष हर्कबहादुर घर्तीले जानकारी दिनुभयो । वडाका ५ जना जनप्रतिनिधिले ५ हजारका दरले २५ हजार रुपैयाँ उपचारका लागि सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

वडावासीको ज्यान जाने अवस्था आउँदा पनि वडासँग आर्थिक सहायताका लागि पैसा नभएको र सहयोग गर्नसक्ने अधिकार पनि नभएको उहाँले जानकारी दिनुभयो । वडा अध्यक्ष घर्तीले च्याउ नखान समेत वडाबासीहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्