बालकको मृत्युको छानबिनका लागि समिति गठन



कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको बहुदरमाई गाउँपालिका– २ का एकै परिवारका २ बालकको हत्याबारे छानबिन गर्न समिति गठन गरिएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समितिमा संघीय प्रहरी इकाई कार्यालय, वीरगन्जका प्रहरी नायब उपरीक्षक छेदिलाल कामती, , जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी नायब उपरीक्षक सत्यनारायण थापा, अनुसन्धान अधिकृत दीपक पटेल र जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा महेश अर्याल सदस्य छन् । २०७४ मंसिर १३ गतेदेखि हराएका सञ्जय साहका ११ वर्षीय छोरा सुमित साहको शव हत्या गरी गाउँ नजिकैको पोखरीमा फालिएको अवस्थामा मंसिर १७ गते भेटिएको थियो । उनको हत्यारा प्रहरीले अझैसम्म पत्ता लगाउन सकेको छैन ।

सञ्जयकै कान्छो भाइ शिवजी साहको ६ वर्षीय छोरा आयोग साह असार ३१ गते पोखरीमा मृत भेटिए । स्थानीयले आयोगको हत्या भएको भन्दै ३१ गते दिनभर शव झिक्न दिएका थिएनन् । हेटौंडाबाट तालिमप्राप्त कुकुर मगाएर आवश्यक अनुसन्धान पछि मात्रै शव बाहिर निकालिएको थियो । त्यही विषयलाई लिएर ३२ गते सोमबार पनि दिनभर वीरगन्मा तनाव भएको थियो ।

प्रदेशसभा सदस्यहरुको नेतृत्वमा स्थानीयले हत्यारा पत्ता लगाउन प्रहरी प्रशासन गम्भीर नभएको भन्दै नाराबाजी गर्दै प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले छानविन समिति गठन नगरेसम्म आयोगको शव नबुझ्ने अडान लिएपछि प्रशासनले बाध्य भएर छानविन समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्