म्याग्दीमा अझै ३० प्रतिशत खेत बाँझै



प्रताप बानियाँ, म्याग्दी ।
धान रोपाईं गरिसक्नुपर्ने असार महिना सकिए पनि अझै रोपाईं सकिएको छैन । यसवर्ष समयमै वर्षा नहुँदा किसानहरुले पानीको अभावमा धान रोप्न पाएका छैनन् । अहिलेसम्म खेतमा हरियो रोपो हुनुपर्ने हो तर, व्याडमा बिउ त्यसै छ । मुल फुट्ने गरी वर्षा हुन नसक्दा किसानले समयमै खेत रोपाईं गर्न पाएनन् ।

उच्च पहाडी जिल्ला म्याग्दीमा अझै ३० प्रतिशत रोपाईं हुन बाँकी छ । पहाडी क्षेत्रको धान रोपाईँका लागि उपयुक्त मानिने असार महिना सकियो । तर, जिल्लाभर हालसम्म ७० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको साविकको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका अनुसार बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकामा ६०÷६०%, मालिका र धौलागिरिमा ९० र अन्नपूर्णमा ८० प्रतिशत मात्र रोपार्इँ भएको छ ।

यसवर्ष मनसुन ढिलो शुरु हुनु, पर्याप्त पानी नपर्नु, सिचाईं सुविधाको अभाव, मकैखेती गरिनु, पानीका मुलहरु नफुट्नु जस्ता कारणले रोपार्इँमा ढिलाई हुन गएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । जिल्लाको कुल खेतीयोग्य जमिन ३० हजार ८५६ हेक्टरमध्ये १९ हजार ४९८ हेक्टरमा मात्रै खाद्यान्न बाली लगाउने गरिएको छ । म्याग्दीमा ३ हजार ८९५ हेक्टरमा धानखेती हुँदै आएको छ भने बाँकी १५ हजार ६०३ हेक्टर पाखो तथा बारी रहेको कृषि कार्यालयका बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिनुभयो ।

प्रति हेक्टर ३ दशमलब ३ मेट्रिक टन उत्पादकत्व रहेकोमा गतवर्ष १२ हजार ८६८ मेट्रिक टन धान उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत रिजालको भनाई छ । जिल्लाको केही स्थानमा भने जेठ महिनामै धान रोप्ने गरिन्छ । कुल खेतीयोग्य जमिनमध्ये २१ प्रतिशतमा मात्रै सिचाईं सुविधा पुगेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा कालीगण्डकी, रघुगंगा र म्याग्दीखोलासहित तीनवटा जलाधारिय क्षेत्र भए पनि आवश्यक प्रविधिको अभाव र दक्ष जनशक्ति नहुँदा खोला छेउकै खेतबारी सिचाईंविहिन छन् । पानीको अभावमा पालो लगाएर धान रोप्ने र रोपेको खेतमा पानी लगाउने गरिएको मंगला–५, अर्मन पिपलबोटका किसान भीमबहादुर सापकोटाले बताउनुभयो ।

पानीका मुल फुट्नका लागि झ्यामझ्याम लामो समयसम्म वर्षा भएर जमिन भिज्नुपर्ने र रिचार्ज भएपछि बल्ल मुल फुट्छ । यसवर्ष जमिन भिज्नेगरी लामो समयसम्म पानी परेकै छैन । जलवायु परिवर्तनको असर, अतिवृष्टि, लामो समयसम्म खडेरी पर्नु, तापक्रम बढ्नुले समयमै वर्षा नभएको कृषि कार्यालयको अनुभव छ । समयमा रोपाईं नहुनु, बिउको आँख्ला चढ्नु, रोपेको खेतमा धाँजा फाट्नु, पानी लगाउन नपाउनु, झार उम्रनुले यसवर्ष धान उत्पादन घट्ने प्रबल सम्भावना रहेको कृषि प्राविधिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्